Tune to BFM 91.2|Biratnagar

बर्खास्तमा परेका निवर्तमान मन्त्री आङ्बो र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

विराटनगर, १४ पुस । प्रदेश १ मा बर्खास्तमा पर्नु भएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम पेचिलो बन्दै गइरहेका बेला आङ्बो र कोइरालाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कोइरालालाई भेट्न उहाँ कोइराला निवास पुग्नु भएको थियो । भेट समसामयिक विषयमा केन्द्रित रहेको आङ्बोले बताउनु भयो । अहिलेको अवस्था र घटनाक्रममा समान दृष्टिकोण भएका दलहरुबीच छलफल भएर अघि बढ्ने कुरामा नेता कोइरालासँग भेट भएको उहाँको भनाइ छ ।

प्रदेशका पूर्व मन्त्री आङ्बोले सामाजिक सञ्जालमा नेता कोइरालासँग भेटेको कुरा सार्वजनिक गर्दै वर्तमान राजनैतिक घटनाक्रम प्रतिगमनविरुद्धको सडक आन्दोलन र प्रदेशमा देखिएका संकट समाधानको लागि संवाद भनेर प्रस्ट पार्नु भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भए पनि सत्ता साझेदारीका विषयमा छलफल भए÷नभएको केही खुलाइएको छैन । नेता कोइरालाले यसअघि कांग्रेस सडकबाट निर्वाचनको खबरदारी गर्ने र सत्ता साझेदारीमा नफस्ने बताउँदै आउनु भएको छ । उहाँको भनाइसँगै कांग्रेस बलियो प्रतिपक्षीको भूमिकामा रहने हो भने, नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षलाई प्रदेश सभामा बहुमत पुर्याउन सकस पर्ने स्रोतले बतायो ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दाहाल–नेपाल समूहले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । मुख्यमन्त्री राईले यसअघि नै मन्त्री आङ्बोलाई पदमुक्त गरिसक्नु भएको छ । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको असरका रुपमा हेरिएको छ ।

संसद विघटनसँगै दुई चिरामा विभाजित बनेको सत्तारुढ नेकपाबीच आन्तरिक रस्साकस्सी चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button