Tune to BFM 91.2|Biratnagar

बलात्कारको आठ महिनापछि अन्सारी पक्राउ

विराटनगर, २३ असोज । होटलमा एक महिलालाई बलात्कार गरेर आठ महिनादेखि भागिरहेका एक व्यक्तिलाई बेलबारी प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैँचामा बलात्कार गरेर भागेका सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडाका ३५ वर्षीय निरज शर्मा भनिने नजाम अन्सारी पक्राउ परेका हुन् ।

लामो समयदेखि फरार रहेका उनलाई इटहरीस्थित घरमा आएको मौका छोपेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो । सुन्दरहरैँचा नगरपालिका–१० स्थित पिनाकी होटलमा २०७६ साल माघ ११ गते २६ वर्षीया महिलालाई बलात्कार गरेर उनी फरार भएको प्रहरीले जनाएको छ ।

ढकालका अनुसार काम लगाइदिन्छुभन्दै नजिक्याएर र प्रलोभन देखाएर उनले महिलामाथि बलात्कार गरेको खुलेको छ । घटना लगत्तै महिलाले जाहेरी दिए पनि फरार भएका कारण अन्सारीलाई प्रहरीले पक्राउ गर्न र घटनाको अनुसन्धान अघि बढाउन सकेको थिएन ।

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन प्रहरीले आज अदालतबाट म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button