Tune to BFM 91.2|Biratnagar

बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन सकिदैन : कानुनमन्त्री तुम्बाहाङ्फे

विराटनगर २६ जेठ । नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले प्रस्ट पार्नुभएको छ ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आज उहाले नेपालको संविधानमा नै मृत्युदण्डको कानून बनाउन नमिल्ने व्यवस्था गरिएको स्मरण गराउनुभयो । छलफलमा केही सांसदले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था आवश्यक भएको बताएका थिए ।

जवाफमा कानुनमन्त्री तुम्बाहाङ्फेले भन्नुभयो ‘यस्ता कुरा उठान गर्दा संविधानले के भनेको छ ख्याल गर्नुपर्छ । संविधानमा मृत्युदण्ड नदिने भन्ने भएका कारण ऐनमा मृत्युदण्डको कार्यलाई कार्यान्वयन गर्ने, मृत्युदण्ड दिनेसम्बन्धी कानुन बनाउन नसकिने जानकारी गराउन चाहन्छु उहाले भन्नुभयो ।’मन्त्री तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन बजेटको कमी हुन नदिने पनि बताउनुभयो ।

नेपालको अन्तरिम संविधान २०६३, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान र सर्वाेच्च अदालतको विभिन्न निर्देशनात्मक आदेश, मानव अधिकार तथा मानवीय कानुनको विश्वव्यापी मान्यता तथा संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार पीडितको मागको सम्बोधन गरिने उहाको भनाई थियो ।

न्यायमा समान पहुँच र्पुयाउनका लागि निशुल्क कानुनी सहायतालाई प्रभावकारी बनाउन बजेटको व्यवस्था गरेको उहाले बताउनुभयो ।कानुनमन्त्री तुम्बाहाङ्फेले संविधानमा उल्लेख गरिएको मौलिक हक कार्यान्वयन उन्मुख रहेको बताउनुभयो । सांसदहरुले मौलिक हक कार्यान्वयनका लागि नियमवलीहरु नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

मौलिक हकसँग सम्बन्धित १६ वटा ऐन निर्माण भएको, त्यसमध्ये २ वटाको नियमावली बनाउन आवश्यक नरहेको र २ वटाको नियमावली बन्ने प्रक्रियामा रहेको बताउनुभयो ।

बाँकी १२ वटा ऐन कार्यान्वयनका लागि नियमावली बनेर कार्यान्वयनको चरणमा रहेको तथा आवास र खाद्य अधिकारसम्बन्धी ऐनको नियमावली बन्ने क्रममा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button