Tune to BFM 91.2|Biratnagar

बलात्कार आरोपमा पूर्व सइ पक्राउ

विराटनगर, ३१ असार । बलात्कार आरोपमा नेपाल प्रहरीका एक पूर्व सइ (नायव निरीक्षक) विराटनगरबाट पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१२ बखरी घर भएका अवकाश प्राप्त सइ नयन श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । ५० वर्षीय श्रेष्ठ विराटनगर–३ मा रहेको काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालकसमेत हुन् ।

२०७६ साल फागुन ३ गते साँझ सेक्युरिटी कम्पनीको कार्यालयमा लगेर एक युवतीलाई बलात्कार गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डीएसपी राईले बताउनु भयो । उहाँकाअनुसार एक युवतीले विभिन्न धम्की दिँदै आफूमाथि बलात्कार गरेको भन्दै घटना भएको लगभग पाँच महिनापछि जाहेरी दिएकी छन् ।

त्यतिबेला करकापमा पारेर बलात्कार गरेको भिडियो सइ श्रेष्ठको नातामा भाई पर्ने ४० वर्षीय ज्योति श्रेष्ठले खिचेको पनि पीडितको जाहेरीमा उल्लेख छ । भिडियो खिच्ने ज्योतिले ‘ब्ल्याकमेल’ गर्न थालेको र नयनकी श्रीमती ४५ वर्षीया रसिला श्रेष्ठको पनि संलग्नता रहेको कुरा आएको प्रहरीले जनाएको छ ।

रसिलाले समेत यही असार १२ गते शुक्रबार बोलाएर भिडियोलाई आधार मान्दै घर जग्गा पास गरिदिनु पर्ने र नभए १० लाख रुपैयाँ दिनु भनेर धम्क्याएको पीडित युवतीले जाहेरीमा उल्लेख गरेको प्रहरीको भनाइ छ ।

बलात्कारको आरोप लागेका पूर्व सइ नयनलाई पक्राउ गरेर प्रहरीले जवरजस्ती करणी मुद्दा चलाउनका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button