Tune to BFM 91.2|Biratnagar

बस दुर्घटनामा मृत्यु भएका युवाको पहिचान खुल्यो

विराटनगर, १६ साउन । मोरङको बूढीगंगा गाउँपालिका–२ मा गयराति भएको यात्रु बहाक बस दुर्घटनामा परेर मृत्यु भएका युवाको पहिचान खुलेको छ ।

मृतक धनकुटाको साँघुरीगढी गाउँपालिका –७ का २९ वर्षीय जोशन भनिने जसबहादुर राई रहेको प्रहरीले जनाएको छ । साथबाट परिचय खुल्ने कुनै पनि कागजपत्र फेला नपर्दा उनको पहिचान खुल्न समय लागेको हो ।

दुर्घटनास्थलमा परेका राईलाई तत्काल उद्धार गरेर उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परेर गर्भवती महिलासहित चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर छ । घाइते भएकी अन्दाजी ४० वर्षीया महिलाको पहिचान खुलेको छैन ।

विराटमै उपचाररत उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का २५ वर्षीय रामकुमार राई र २८ वर्षीया कल्पना राई, रामप्रसाद राई गाउँपालिकाका–१ की ३५ वर्षीय मुना राई घाइते भएका छन् । तीनै जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये रामकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार कल्पना पाँच महिनाकी गर्भवती हुन् । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताउनु भयो ।

उहाँकाअनुसार लेन छुट्याउन सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परेको हो । बसका चालक अहिलेसम्म सम्पर्कविहीन छन् । कसले बस चलाएको थियो भन्ने हालसम्म नखुले पनि दुर्घटनामा परेर मृत्यु भएका युवा चालक भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button