Tune to BFM 91.2|Biratnagar

बहुभाषिक कविगोष्ठी र समावेशी सांस्कृतिक कार्यक्रम

विराटनगर, २७ असार । आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानु कलाकेन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले बहुभाषिक कविगोष्ठी र समावेशी सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

विराटनगर–१० सन्सारीमाईस्थानस्थित भानु कलाकेन्द्रमा भएको कार्यक्रममा सरिता तुलाधर, मीनकुमार नवोदित, लक्ष्मी चौधरी, दीपबहादुर खापुङ, प्रमोद ढकाल, ममता श्रेष्ठ, पूजा बहारलगायतले नेपालीसहित विभिन्न भाषाका सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो । त्यस्तै भानु कलाकेन्द्रका कलाकारहरुले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

गत वर्ष घोषणा गरिएको भानु पदक कलाकार संगीता मण्डललाई प्रदान गरिएको थियो । मण्डललाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर–१० का वडाध्यक्ष माधवराज वाग्ले र आयोजक संस्थाकी अध्यक्ष माया पौडेलले पदक र सम्मानपत्र समर्पण गर्नुभएको थियो ।

भाषाशास्त्री बालकृष्ण पोखरेल समता वाङ्मय प्रतिष्ठानसँगको सहकार्यमा भएको कार्यक्रममा वडाध्यक्ष वाग्लेसहित प्राज्ञ खेम नेपाली, सांस्कृतिक संस्थानका निवर्तमान महाप्रबन्धक राजेश थापा, अग्रज साहित्यकार बलराम पोखरेल, साहित्यकार देवी पन्थी, कार्यक्रम संयोजक प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा–साहित्यमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button