बाँकेका २१ जना संक्रमित निको भएर घर फर्किए
विराटनगर, ९ जेठ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई आज बिहान डिस्चार्ज गरिएको हो ।
कोरोनालाई जितेर घर फर्किनेहरुमा सो जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् ।‘
आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो, ‘बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य नै रहेको बताईएको छ ।’
सो अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । कोरोना पोजेटिभ देखिंदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताउनुभयो ।
प्रदेश ५ मा यसअघि रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाइ गाउँपालिकाका २५ वर्षका युवक पनि निको भएर घर फर्किसकेका छन् ।