Tune to BFM 91.2|Biratnagar

बाढी, डुवान र पहिरोका कारण मोरङका एकसय बढी घर परिवार विस्थापित

विराटनगर, २८ असार । अविरल वर्षासँगै आएको बाढी, डुवान र पहिरोका कारण मोरङका एकसय बढी घर परिवार विस्थापित भएका छन् ।

केशलिया खोलामा पानीको बहाव बढी भई बस्तीमा पस्दा विराटनगर १२ का ३० घर परिवारका १ सय ५० जना, विराटनगर १६ दरैया बस्तीका ५० घरका २ सय ५०, विराटनगर–६ को सिम्राही टोलमा पानी पस्दा मुसहर बस्तिका १० घरहरु डुवानमा परेका छन् ।

डुवानमा परेका घरका परिवारलाई स्थानीय विद्यालयमा सारिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताउनुभयो । कानेपोखरी –५ मा चिसाङ खोलाले कटान शुरु गरेपछि ७ घर परिवारका ३२ जनालाई स्थानीय भंसावारी विद्यालयमा सारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्षाका कारण चिसाङ खोलामा आएको बाढिले कानेपोखरी २ चिसाङ बस्तीका पाण्डव ऋषिदेव र सलाङ ऋषिदेवको घर बगाएको छ ।

उनीहरुलाई स्थानीय विद्यालयमा सारिएको प्रहरी प्रवक्ता डिएसपी राईले बताउनुभयो । वर्षा सँगै परेको पानीको कारण पहिरो झर्दा मिक्लाजुङ २ कुवापानीका रणकुमार राईको घर पुरिएको छ । उहाँको घर बस्न नमिल्ने गरि पुरिएको राईले बताउनुभयो । उर्लाबारीमा ३ मंगलबारेमा बक्राहा खोलाको बाढी पस्दा डेढ दर्जन घर परिवारको धानीवाली बगाएको छ ।

प्रहरीका अनुसार भर्खरै रोपेको डेढ दर्जन घरपरिवारको १२ विगाहा खेतमा लगाईएको धानवाली खोलाले बगाएको छ । रंगेली ८ नहर चोकमा चिसाङ खोलामा आएको बाढीका कारण ४० विगाहामा लगाईएको धान खेत डुवाएको छ ।

यसैवीच संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा गएको पहिरोले ९ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनाको स्थानियवासीले जिवितै उद्धार गरेको प्रहरीले जनाएको छ ।

पहिरोमा परि ५ घर परिवारका ११ जना बेपत्ता भएका छन । पहिरोमा परि बेपत्ता हुनेमा सिलिचोङ १ बेसिन्दाका ६० वर्षीय राममान राईसहित उनकी ६५ वर्षीया श्रीमती हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता रहेका छन ।

त्यसै गरि जुद्धबहादुर राई (गैरी)को ६५ वर्षीया श्रीमती गोरीमाया राई, २२ वर्षीया छोरी प्रकृति राई रहेका छन् । त्यसै गरि बेपत्ता हुनेमा ५२ वर्षीय जुद्धबहादुर राई र उनकी ४५ वर्षीया श्रीमती उत्तरकुमारी राई रहेका छन् ।

त्यसैगरी ८४ वर्षीय हर्कराज राई र उनकी ८२ वर्षीया श्रीमती आईतमाया राई र ७० वर्षिया नजमाया राई पनि बेपत्ता भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो । पहिरोमा परी चार जना गम्भीर घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button