बाढी पसेपछि अधिकांश उद्योग बन्द

0
204

विराटनगर, २९ असार । निरन्तरको वर्षासँगै बाढी पसेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांश उद्योग बन्द भएका छन् । लेदोसहितको बाढी पसेर उद्योगका मेसिनमा पनि क्षति पुगेको छ । करिडोर अन्तरगतका अधिकांश उद्योगहरु उत्तर–दक्षिण कोसी राजमार्गको आसपासमा छन् । त्यस बाहेक विराटनगर–रंगेली सडक खण्ड र दुहवी–इनरुवा सडक खण्ड आसपासमा छन् । ति उद्योगहरुमा अधिक पानी जमेका कारण उद्योग चलाउन सक्ने अवस्था छैन । विराटनगर–धरान सडक खण्डमा उद्योगहरु सडक भन्दा होचो भू–भागमा रहेको र सडकको उचाई बढेसँगै धेरै उद्योगहरु डुबानमा परेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनु भयो । उद्योग क्षेत्रमा पानी निकासलागि व्यवस्थित नालाको व्यवस्था छैन । जसले गर्दा वर्षामा उद्योग भित्र पानी पसेको हो । त्यसमाथि पनि निरन्तरको वर्षात्ले पानीको निकास झनै कठिन बनाएको उहाँले बताउनु भयो । पानी उद्योग भित्र पुरै जमेको छ र सडकमा बिजुलीका खम्बाहरु पनि ढल्दा विद्युत आपुर्ती बन्द भएका कारण उद्योग चलाउन सक्ने अवस्था नएको मुन्दडाले बताउनु भयो । केही उद्योगहरुमा पानी पसेको छैन तर काम गर्ने मजदुरहरुको घर डुबेको छ । मजदुर काम गर्न आउन सक्ने अवस्था नहुँदा पनि तनाव भएको उद्योगीहरुले बताए । यसै वर्षदेखि सुनसरीको दुहवीमा सञ्चालनमा आएको प्रिमियर स्टील उद्योग पनि पानी पसेका कारण बन्द भएको छ । उद्योगमा पानी पसेर सबै कच्चा पदार्थहरु नष्ट गरिदिएको र मेसिन पनि बिगारिदिएको विराटनगरका उद्योगी महेश जाजुले बताउनु भयो । उहाँले तत्काल उद्योग खोलेर चलाउन सक्ने अवस्था नरहेको जानकारी दिनु भयो । उद्योग बाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले उद्योगहरु बन्द हुँदा उत्पादन र उत्पादकत्व घटेको बताउनु भयो । उहाँका अनुसार यसले उपभोक्ता र बजारलाई पनि प्रभावित बनाएको छ । तत्काल यसको असर नदेखिएपनि विस्तारै मूल्य लगायतमा यसको नकारात्मक असर पर्ने राउतले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here