बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो, बेपत्ता ६ जना

0
189

विराटनगर, २८ असार । प्रदेश १ मा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या आज साँझसम्ममा १५ पुगेको छ । बेपत्ता हुनेको संख्या ६ पुगेको छ । अस्ती बिहीबारदेखि आज साँझसम्ममा भोजपुरमा ५, खोटाङमा ३, ओखलढुंगामा ३, झापामा २, इलाममा १ र सुनसरीमा १ जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं एसएसपी किशोरकुमार दाहालले बताउनु भयो । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ । पहिरोले बगाएको भान्छा घरले किचेर मृत्यु भएका ३५ वर्षीय मनकुमारी राई, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमारको शव साँझसम्ममा बाहिर निकालियो । भोजपुरकै रामप्रसादराई –७ का ६६ वर्षीय जगतबहादुर राईको आफ्नै घरले किचेर गत बिहीबार मृत्यु भएको थियो । भोजपुरकै ट्याम्केमयुङ गाउँपालिका–९ का १४ वर्षीय बालक जनक विकको शौच गर्ने गर्नेमा शौचालयले किचेर हिजो मृत्यु भयो । ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्ले की ४० वर्षीय खपुटि शेर्पा र उनकी छोरी १२ वर्षीया याङजी शेर्पाको पहिरोमा पुरिएर आज मृत्यु भएको छ । घरमाथिको पहिरोले बेपत्ता बनाएका दुवै जनाको शव दिउँसो फेला परेको हो । ओखलढुंगाकै चिसुङखुगडी गाउँपालिका–४ का ८५ वर्षीय पासाङ पुटी शेर्पाको हिजो खोलाले बगाएर मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–५ सालमारास्थित बनियानी खोलाले आज बगाउँदा ९ वर्षीय सौगात चापागाईको मृत्यु भएको छ । फूपुकी छोरी समीक्षा पौडेलसँग खेल्ने क्रममा चिप्लिएर खोलामा खस्दा उनको मृत्यु भएको एसएसपी दाहालले बताउनु भयो । दमक नगरपालिका–१० की ६ वर्षीय बालिका एलिजा न्यौपानेको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । खोटाङमा हिजो पहिरोसँगै लडेको घरले किचेर दुई नाबालक छोरासहित आमाको मृत्यु भएको थियो । खोटेहयाङ गाउँपालिका–२ की २८ वर्षीय रेखा राई, छोरा ४ वर्षीय रोमन र ७ महिनाका रोहनको घरले किचेर मृत्यु भएको एसएसपी दाहालले बताउनु भयो । इलामको चुलाचुली गाउँपालिका–१ बस्ने ५० वर्षीय अञ्चल लावतीको खोलाले बगाएर मृत्यु भएको छ । त्यस्तै उदयपुर घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय सागर थापाको खोलामा आएको बाढीले बगाएर आज बिहान मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार खोजतलास जारी राखिए पनि खोलाले बगाएर बेपत्ता भएका ६ जनाको अवस्था भने अज्ञात छ । बेपत्तालाई जीवितै भेट्ने सम्भावना कम रहेको प्रहरीको भनाइ छ । मोरङमा आज दिउँसो लोहन्द्रा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । कटहरी गाउँपालिका–४ का ५० वर्षीय शोभा सोरेन र जहदा गाउँपालिका–५ का १६ वर्षीय आदर्श पोेद्धारलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका– ४ का ९ वर्षीय बालक दिवन राई, झापाको भद्रपुर नगरपालिका–९ का ४५ वर्षीय सफल हस्दा र सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ का १० वर्षीय अर्पन राई खोलाले बगाएर बेपत्ता भएका छन् । मोरङको कानेपोखरी गाउँपालिका–२ मा अन्दाजी ३० वर्षीय पुरुष गत बिहीबारबाट खोलाले बगाएर बेपत्ता भए पनि उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here