बालबालिका मुलुक निर्माण गर्ने भविष्यको जनशक्ति:मन्त्री कार्की
विराटनगर, २ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बालबालिका मुलुक निर्माण गर्ने भविष्यको जनशक्ति भएको बताउनु भएको छ ।
बालबालिका खोजतलास नि ःशुल्क टेलिफोन नं १०४ को सेवा केन्द्र सञ्चालन र बाल अधिकार प्रवद्र्धन सम्वन्धी राष्ट्रिय बालअधिकार परिषद्ले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मन्त्री कार्कीले बालवालिका नर्सरी भएकोले उनीहरुको चौतर्फी विकासबाट मुलुक एवं समाज प्रगति र विकास हासिल गर्न सक्षम हुने धारणा व्यक्त गर्नुभयो ।
मन्त्री कार्कीले महिला हिंसा, तस्करी, लागु पदार्थ दुव्र्यसनी नियन्त्रणका लागि असल नागरिक उत्पादनका लागि सामुदायिक तथा निजी विद्यालयहरुमा ‘सगरमाथा टिन्स क्लव’मार्फत प्रदेश सरकारले ‘म अघि बढ्छु’ अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेलले अधिकांश १५ देखि १७ वर्षसम्मका बालबालिका हराउने गरेपनि फेला पर्नेको सङख्या कम रहेको बताउनुभयो । राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेलले १०४ नं. प्रभावकारी रहेको बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा १ नंं प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) इश्वरबाबु कार्की, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बराल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका जिल्ला प्रहरी, इलाका प्रहरी र वडा प्रहरी कार्यालयमा रहेका महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख, मुद्दाफाँटका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।