Tune to BFM 91.2|Biratnagar

बालिकामाथि बलात्कार प्रयास घटना एक सातापछि सार्वजनिक

विराटनगर, १३ फागुन । मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको घटना एक सातापछि सार्वजनिक भएको छ । बलात्कार प्रयास भएको जानकारी दिन पीडित पक्ष आज इलाका प्रहरी कार्यालय रानीमा आएपछि घटना बाहिरिएको हो ।

घटनामा संलग्नविरुद्ध पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनामा संलग्न ४५ वर्षीय राजेन्द्र सरवरीया फरार रहेका कारण खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । पीडित परिवारले बालिकामाथि पटक÷पटक बलात्कारको प्रयास भएको जानकारीसहित सरवरीयाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् । जाहेरी अनुसार बालिकामाथि फागुन ६ गते दिउँसो ४ बजेतिर पहिलो पटक बलात्कारको प्रयास भएको थियो ।

सोही वडामा रहेको आफ्नै मामाको घरबाट आफू बस्दै आएको मावली हजुरआमाको घरतिर जाने क्रममा सरवरीयाले फकाईफुल्याई बाटैबाट नजिकैको मकै बारीमा लगेर बलात्कार प्रयास गरेपछि भागेर बचेको बालिकाले बताएको प्रहरीले जनाएको छ । त्यसको दुई दिनपछि पनि आफूमाथि सरवरीयाले पुनः बलात्कार प्रयास गरेपछि उनले घटनाका बारेमा अभिभावकलाई जानकारी दिएकी हुन् । त्यसपछि गाउँकै अगुवाले घटनालाई मिलाउने प्रयास गरेको पाइएको प्रहरी स्रोतले बतायो ।

सबै लागेर गाउँमै मिल्नुपर्ने दबाब दिएका कारण आफूहरु घटना भएका समयमै प्रहरी कार्यालयमा आउन नसकेको पीडित पक्षले बताएका छन् । घटनालाई मिलाउने प्रयास गर्ने र पीडित पक्षलाई मिल्न दबाब दिनेहरुलाई पनि कारबाहीको दायरामा ल्याइने डीएसपी राईले बताउनु भयो । प्रहरीका अनुसार बालिकाको पारिवारिक आर्थिक अवस्था निक्कै कमजोर छ । आमाको पहिल्यै मृत्यु भइसकेको र बुवा पनि लगभग नौ वर्षदेखि बेपत्ता रहेका कारण बालिका मावली हजुरआमाकोमा बस्दै आएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button