Tune to BFM 91.2|Biratnagar

बालिकालाई बन्धक बनाएर बलात्कार

विराटनगर, १५ फागुन । मोरङको उर्लाबारीकी १५ वर्षीया बालिकामाथि सुनसरीको इटहरीमा बन्धक बनाउँदै बारम्बार बलात्कार गरिएको घटना बाहिर आएको छ । सुनसरीको इटहरीमा कोठा भाडामा लिएर बन्धक बनाउँदै एक सातादेखि बालिकामाथि निरन्तर बलात्कार गरिरहेको घटना सार्वजनिक भएको हो । राम्रो कमाई हुने काममा लगाइदिने बहानामा नशालु पदार्थ खुवाएर कोठामा बालिकालाई बन्धक बनाएर बलात्कार गरिएको घटनामा संलग्न ४९ वर्षीय रोहित कार्की पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएका कार्की सार्वजनिक यातायातमा यात्रु खोजिदिने काम गर्छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि हिजोसाँझ इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको छ । पीडित बालिकाको उद्धार गर्दै बलात्कारमा संलग्नलाई पक्राउ गरेर कारबाहीका लागि इटहरीको जिम्मा लगाइएको जानकारी बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले दिनु भयो । ढकालका अनुसार राम्रो पैसा कमाई हुने प्रलोभन देखाएर काममा लगाइदिने आवश्वासन दिँदै कार्कीले विभिन्न धम्की तथा चरम यातना दिएर बालिकामाथि बलात्कार गरिरहेको खुलेको छ ।

बलात्कृत बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले प्रतिकार गर्दा र नमान्दा चरम हिसाबले मानसिक र शारीरिक यातना दिँदै, धम्क्याउँदै तथा कुटपिट गर्दै बालिकामाथि बलात्कार गरिरहेको पाइएको बताउनु भयो । पीडित बालिकालाई आवश्यक संरक्षण र ‘काउन्सिलिङ’का लागि प्रहरीले माया घरको जिम्मा लगाएको छ । बलात्कारका क्रममा कुटपिट गरिएको निलडाम र चोट बालिकाको शरीरमा प्रष्टसँग देख्न सकिन्छ । बालिकाको उपचार पनि सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका सात वर्षभन्दा अघिदेखि अभिभावकबाट संरक्षणविहीन अवस्थामा रहेको पाइएको छ । बाबुले अर्कै महिला र आमाले पनि अर्कै पुरुषसँग दोस्रो बिहे गरेर सम्पर्कविहीन बनेपछि उनी आफन्तको शरणमा पुगेकी थिइन् ।

तर आफन्तले पनि साथ नदिएपछि बाँच्नका लागि कामको खोजीमा निस्किएकी बालिका इटहरीमा भने बलात्कारको सिकार बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलात्कार र चरम यातना सहन नसकेपछि कार्की बाहिर निस्किएको मौकामा बालिका कोठा छाडेर भागेकी थिइन् । तर बारम्बार फोन गर्दै विभिन्न मुद्दामा फसाइदिने धम्की दिन थालेपछि बालिकाले केही चिनजानका व्यक्तिसँग सहयोग मागिन् ।

उनीहरुकै सहयोगमा बालिकाले आफूलाई लिन विराटचोकसम्म आउन कार्कीलाई अनुरोध गरिन् । त्यसपछि विराटचोक पुगेका उनलाई भाग्न खोज्दै गर्दा स्थानीयको सहयोगमा बेलबारी प्रहरीले नियन्त्रणमा लिँदै बालिकाको उद्धार गरेको हो । प्रहरीले आमा, बुवा लगायत परिवारका सदस्यको माया नपाउँदा तथा आफन्तले पनि साथ नदिँदा संरक्षणविहीन बनेपछि बाँच्नका लागि कामको खोजीमा निस्किएकी बालिकामाथि चरम यौन शोषण भएको जानकारी दिएको छ । प्रहरीले कार्कीविरुद्ध अपहरण र शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाउन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button