Tune to BFM 91.2|Biratnagar

बालिका बलात्कार गर्ने पक्राउ

विराटनगर, ३ जेठ । बालिकालाई बलात्कार गर्ने विराटनगर महानगरपालिका–४ ईक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल)लाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विराटनगर –४ की १४ वर्षीया बालिकालाई बलात्कार गरेका गडेरीलाई नियन्त्रणमा लिएर जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

प्रहरीकाअनुसार घर नजिकै एक जना साथीसँग १४ वर्षीया बालिका बिहान ५ः३० बजेतिर हिँडिरहेकी थिइन् । त्यही बेला बाटोमा भेटिएका गडेरीले नियन्त्रणमा लिएर बालिकालाई नजिकैको मकैबारीमा पुर्याएर बलात्कार गरेको डीएसपी राईले बताउनु भयो ।

बालिकालाई कब्जामा लिएर मुख थुन्दै बोल्नसमेत नदिइकन बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूसँगै रहेकी साथीलाई उठाउँदै काँधमा हालेर लगेपछि त्यहाँबाट चिच्याउँदै डरले भागेकी अर्की बालिकाले घटनाका बारेमा अभिभावक र स्थानीय बासिन्दालाई सुनाएकी थिइन् ।

त्यसपछि भेला भएका स्थानीयले बलात्कार गरेर भाग्दै गरेको अवस्थामा गडेरीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बालिका बलात्कार गर्ने वीरेनका भाईहरु र अरु आफन्तले घटनास्थल मुचुल्का उठाउन प्रहरीलाई अवरोध गर्दै पीडितका आफन्त र घटनाका प्रत्यक्षदर्शीलाई आक्रमणको प्रयास समेत गरेको डीएसपी राईले बताउनु भयो ।

त्यसमा संलग्न मध्ये २२ वर्षीय सुरेन्द्र गडेरी र २० वर्षीय विजय गडेरीलाई पक्राउ गरिएको राईको भनाइ छ । पक्राउ पर्ने दुवै जना बलात्कारमा संलग्न वीरेनका भाईहरु रहेको जानकारी प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button