Tune to BFM 91.2|Biratnagar

बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा घरधनी पक्राउ

विराटनगर, १७ फागुन । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई हिजो साँझ पक्राउ गरेको हो ।

गिरीविरुद्ध यसअघि नै कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेकाले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत मोरङमा बुझाइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । त्यसपछि अदालतले उनका हकमा आदेश जारी गर्ने छ । उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो ।

परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए । परिवारका सदस्यले भने हत्या भएको भन्दै छ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रुपमा अनुसन्धान अघि बढायो । घटनाका आरोपीमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईको हकमा अदालतले गत बिहीबार आदेश दिइसकेको छ ।

आदेश अनुसार दर्जी पूर्पक्षका लागि थुनामा छन् भने राई तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटिसके । मुद्दामा झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेललाई पनि प्रतिवादी बनाइएको छ । फरार रहेका राजेश, सुदीप र दिपेशको खोजी तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेहरमान, सुदीप र दिपेश गिरीको घरमा डेरा बस्थे ।

आफूसँगै पढेका साथी प्रवीणलाई लिएर राजेश पुस ४ गते त्यहाँ पाहुना गएका थिए । कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा शौरभ होटलका सञ्चालक कुमार राईसँग विवाद भएको देखिएको एसपी खड्काको भनाइ छ । त्यसपछि साथीको डेरामा पुगेर सबै एउटै कोठामा सुतेकामध्ये प्रवीणको भने शंकास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button