Tune to BFM 91.2|Biratnagar

बास्तोला मृत्यु प्रकरणका एक जना थुनामा, अर्का धरौटीमा छुटे

विराटनगर, १३ फागुन । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणसँग जोडिएको मुद्दामा जिल्ला अदालत मोरङले आज आदेश गरेको छ । अदालतले घटनाका आरोपी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

त्यस्तै अदालतले अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । न्यायाधीश सुदर्शन लाछिमानेको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएकामध्ये दर्जीलाई थुनामा र राईलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनु भयो ।

प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ती दिएको, न्याय नपाएको तथा मृतकको मिसिलमा अर्कैको व्यक्तिको फोटो राखिएको भन्दै आफन्त र परिवारका सदस्य गत आइतबारबाट आन्दोलित बनेका थिए । प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले छ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । प्रतिवादीमध्ये दुई जना पक्राउ परे भने चार जना फरार छन् । मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरीसमेतलाई प्रतिवादी बनाइएको छ । फरार रहेका चारै जनासहित छ जना यही घटनामा यसअघि पक्राउ परेका थिए ।

प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा उनीहरुलाई छाडिदिएको थियो । आफन्तको जिम्मा लगाएर छाडिएकामध्ये चार जना अहिले फरार रहेको र खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । मृतकको पोस्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट ढिलो आउँदा पक्राउ परेकाहरुलाई हाजिर जमानीमा छाड्नु पर्दा यस्तो अवस्था आएको उहाँको भनाइ छ । लामो समयदेखि यो घटनामा प्रहरीले कर्तव्य ज्यान मुद्दामै अनुसन्धान गरिरहेको थियो ।

अहिले आएर पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्टले हत्या भएको भन्ने देखाएको खड्काको भनाइ छ । बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । प्रतिवादीमध्ये गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा बस्नलाई माघ ४ गते पुगेका प्रवीणको मृत्यु भएको खवर भोलिपल्ट परिवारका सदस्यले पाएका थिए । एसपी खड्काले घटनाको विभिन्न पाटो केलाउँदा र परीक्षण रिपोर्टको विश्लेषण गर्दा उनको हत्या नै भएको निस्कर्षमा प्रहरी पुगेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button