Tune to BFM 91.2|Biratnagar

बास्तोला मृत्यु प्रकरण जटिल मोडमा

विराटनगर, १२ फागुन । मोरङ उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरण घटना थप पेचिलो बनेर गएको छ । आफन्त र परिवारका सदस्यले आन्दोलन चर्काएर लगेपछि यो प्रकरण जटिल मोडमा पुगेको हो । दोषीलाई उन्मुक्ति दिने हिसाबमा प्रहरीले घटनालाई बङ्ग्यान खोजेको आरोप उनीहरुको छ । प्रहरीले भने अनुसन्धानलाई जारी राखेर मजवुत ढंगबाट प्रमाण संकलन गर्दै घटनाकोे वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाइएको दाबी गरिरहँदा विश्वास गर्ने आधार नभएको भन्दै आफन्त र परिवारका सदस्यले आन्दोलन चर्काएपछि घटना जटिल मोडमा पुगेको हो । उर्लाबारी नगरपालिका– ५ का ३१ वर्षीय बास्तोलाको शंकास्पद मृत्यु प्रकरणलाई लिएर आन्दोलनमा उत्रिएका आफन्त र परिवारका सदस्य दुईवटा बस रिजर्ब गर्दै हिजो विराटनगरमा आएर प्रदर्शन गरेका छन् । विराटनगर आएका आफन्त र परिवारका सदस्यले घटनामा मुद्दा नचल्नुको कारण बारे जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुगेर बुझेका छन् ।

प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति दिन मिसिलमा फोटो परिवर्तन गरेको आरोप आफन्तको छ । प्रहरीले यस्तो अनुसन्धान मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले तत्काल मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै घटनाका बारेमा थप प्रमाण संकलन गरेर मुद्दालाई मजवुत बनाउन प्रहरीलाई निर्देशन दिएको थियो । त्यसपछि घटनामा प्रतिवादी बनाइएका उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जी माघ २ गते हाजिरजमानी छुटे । जिल्ला न्यायाधीवक्ता मनोज आचार्यले पक्राउ परेकाहरुलाई कानुन अनुसार नै २५ दिन हिरासतमा राखेर अनुसन्धानपछि छाडिएको जानकारी दिनु भयो ।

अनुसन्धानको मिसिलमा मृतकको ठाउँमा अर्कै व्यक्तिको फोटो राखिएको भनेर आफन्त र परिवारका सदस्य आन्दोलित बनेको पाइए पनि वकिल कार्यालयमा रहेको मिसिलका दुईवटा फोटा भने मृतककै रहेको उहाँको भनाइ छ । गलत नियत राखेर अनुसन्धानलाई प्रभावित पार्ने कुनै काम नभएको निस्कर्ष वकिल कार्यालयको छ । पोस्टमार्टमदेखि लिएर फरेन्सिक रिपोर्टसम्मले हत्या भएको भन्ने नदेखाएको प्रहरीले जनाएको छ । मृतकका आफन्तसँगको भेटमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यस विषयमा छानबिन सुरु भइसकेका कारण घटनामा लापरबाही देखिए प्रहरीमाथि कारबाही हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button