Tune to BFM 91.2|Biratnagar

बास्तोला शङ्कास्पद मृत्यु प्रकरण: एक जनालाई अदालतमा पेस गर्नै बाँकी

विराटनगर, २८ फागुन । मोरङ उर्लाबारीका एक युवाको हत्या आरोप लागेका छ जना पक्राउ परे पनि पाँच जनालाई मात्रै अदालतमा पेस गरिएको छ । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल मात्रै अदालत उपस्थित गराउन बाँकी रहेका हुन् ।

प्रवीणको हत्या गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । तर उनी अहिले पनि झापा प्रहरीको नियन्त्रणमा छन् । मोरङ प्रहरीको नियन्त्रणमा नरहेका कारण दिपेशलाई अहिलेसम्म अदालतमा लैजान नपाइएको हो । मोटरसाइकल चोरीको घटनामा उनीविरुद्ध झापाको दमकस्थित इलाका प्रहरी कार्यालयले अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको पाइएपछि दिपेशलाई फागुन १८ गते सप्तरीबाट पक्राउ गरेर दमक ल्याइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले बताउनु भयो । उहाँले चोरी मुद्दामा अनुसन्धान सकिनसाथ दिपेशलाई जिल्ला अदालत मोरङमा दर्ता भएको कर्तव्य ज्यान मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन मोरङ प्रहरीको जिम्मा लगाइने जानकारी दिनु भयो । झापाबाट प्रहरीले बुझाएपछि मोरङ ल्याएर दिपेशलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिने जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिनु भयो ।

प्रहरीले बुझाएपछि बयान लिने र कानुन व्यवसायीबीच थुनछेक बहस भएर उनका सम्बन्धमा अदालतले आदेश दिने छ । प्रवीण मृत्यु प्रकरणका मुख्य अभियुक्त झापाको दमक घर भई उर्लाबारी–६ मा बस्दै आएका ३२ वर्षीय राजेश रणपहेलीलाई मोरङ अदालतले गत मंगलबार नै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ । प्रवीण मृत्यु प्रकरणमा छ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ ।

पाँच जना प्रतिवादीलाई यसअघि नै प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइसकेको छ । मुद्दामा राजेश र दिपेशसहित मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीमध्ये अदालतले राजेश, मेहरमान र सुदीपलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ । अदालतले धरौटीवापत मागेको तीन लाख रुपैयाँ बुझाएर कुमार र एक लाख रुपैयाँ बुझाएर रमेश छुटिसकेका छन् । आफ्ना साथीहरु भाडामा बस्ने गरेको उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सुत्न गएका प्रवीणको शंकास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button