बिराटनगरमा नेपाली कांग्रेसको बिरोध
विराटनगर, २५ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले प्रधानमन्त्री केपी ओलीले कुबेलामा असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख) ले विराटनगरस्थित हाटखोला मैदानमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै आचार्यले प्रधानमन्त्री ओलीकै कारण मुलुक अनिर्णयको बन्दी भएको बताउनुभयो ।
उहाँले कोरोनाको महामारीबाट पीडित भएका जनतालाई राहत दिनुपर्ने, युवाहरूलाई रोजगारी दिनुपर्ने, कोरोना खोप खरिद गरेर जनतालाई सुरक्षित राख्नुपर्ने वेलामा प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेर जनतालाई राहत नभई सास्ती दिएको आचार्यको भनाइ छ । नेकपाले जनताको मतको अपमान गरेको आचार्यको आरोप छ । बिरोधसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केपी ओलीको सरकारले आफू सरकारमा टिकिरहन र सर्वसत्तावाद लाद्न असंवैधानिक कदम चालेको बताउनुभयो ।
पराजुलीले केपी ओलीले चालेको असंबैधानिक कदमको जति भत्सना र विरोध गरे पनि कम हुने उल्लेख गर्नुभयो । बिरोधसभालाई स्थानिय नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो । ओलीको असंबैधानिक कदमको बिरुद्धमा देशव्यापी माहोल सिर्जना गर्न कांग्रेसले हरेक निर्वाचन क्षेत्रमा र्याली, सभालगायतका बिरोध कार्यक्रम आयोजना गरिरहेको छ ।