Tune to BFM 91.2|Biratnagar

बिराटनगर र धरानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, १९ कात्तिक । बिराटनगर र धरानमा उपचाररत ४ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित दुई वृद्ध वृद्धाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा र नौ वार्षीय बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको हो ।

नोबेलमा इलामकी वृद्धा महिला र झापाका वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार दमको पुरानै समस्या रहेकी इलामको चुलाचुली-६ की ८४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या रहेकोभन्दै वृद्धालाई हिजो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थाल्दै स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएको प्रबन्धक दाहालको भनाइ छ । त्यस्तै झापाको दमक-३ का ६४ वर्षीय संक्रमित वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । मृतक बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् ।

दाहालका अनुसार दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएकोभन्दै कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो । वृद्धलाई ‘आइसोलेसनमा राखेर उपचार थालिएको छ दिनमा मृत्यु भएको हो ।’

यसैबिच उता नौ वार्षीय बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको छ ।मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ६ कि ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ कि ६१ वर्षीया वृद्धा महिला छन् ।

इटहरी-६ की बालिकाकोे आज बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै धरान -१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा आज ३ः१५ मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button