Tune to BFM 91.2|Biratnagar

बेवारिसे पुरुषको शव व्यवस्थापन महानगरले गर्यो

विराटनगर, ८ भदौ । कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका एक बेवारिसे पुरुषको शव व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको छ ।

आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा र उनीहरुका बारेमा पत्ता लाग्न नसक्दा आज कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापन महानगरले गर्नु परेको हो । घर धनकुटा, नाम दीपक शेर्पा र उमेर ५० वर्ष बताउने पुरुषको गत शुक्रबार बिहान कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर उनका आफन्त र परिवारका सदस्य कोही पनि सम्पर्कमा नआएपछि अस्पतालले पोस्टमार्टम गर्दै शव व्यवस्थापनका लागि महानगरको जिम्मा लगाएको हो । दाहसंस्कारका लागि जिम्मा लिन कोही आफन्त आउने आशमा शवलाई तीन दिनदेखि कोशी अस्पतालकै शव गृहमा राखिएको थियो । प्रहरीले खोजी गरे पनि उनका नाता सम्बन्धका कसैलाई फेला पार्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा छटपटाइरहेका बेला उनलाई प्रहरीले उद्धार गरेर गत बिहीबारराति उपचारका लागि कोशी अस्पताल ल्याएको थियो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले पथरीशनिश्चरे क्षेत्रमा केही समयदेखि ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका पुरुष सडकमा छटपटाइरहेको देखेर उपचारका लागि पठाइएको बताउनु भयो ।

कोशी अस्पतालले कोरोनाको आशंकामा पुरुषलाई आइसोलेसनमा भर्ना गरेर स्लाइन चढाउँदै उपचार सुरु गरेको थियो । तर शुक्रबार बिहान आइसोलेसनमै मृत्यु भएको अवस्थामा उनको शव भेटियो । एउटैलाई लामो समयसम्म राखिरहन सक्ने अवस्था नहुने र अरु पनि शवहरु पोस्टमार्टमका लागि गृहमा राख्नु पर्ने भएपछि अस्पतालले शव तीन दिनपछि व्यवस्थापन गर्न महानगरको जिम्मा लगाएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले कोरोना नेगेटिभ रहेका पुरुषको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने जानकारी दिनु भयो । डीएसपी राईले मृतकले दिएको अस्पष्ट ठेगानाका आधारमा प्रहरी लगाएर खोजी गरिए पनि कोही आफन्त फेला पार्न नसकिएको र शव जिम्मा लिन कोही पनि नआएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button