Tune to BFM 91.2|Biratnagar

बैंकको ब्याज सतप्रतिशत छुट गर्न विराटनगरका व्यवसायीहरुको माग

विराटनगर, ३० जेठ । विराटनगरका व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि लागू हुनेगरी बैंकबाट लिइएको कर्जाको सतप्रतिशत ब्याज छुट गर्न माग गरेका छन् ।लकडाउनका कारण व्यापार व्यवसाय धाराशायी भएकाले लकडाउनको अवधिको कर्जाको सम्पूर्ण ब्याज छुट गर्न व्यवसायीहरुले माग गरेका हुन् ।

विराट व्यापार संघसहितका १० वटा संस्थाले ब्याज छुटसहितका विभिन्न ५ वटा माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र नेपाल राष्ट्रिय बैंक विराटनगरका निर्देशक लक्ष्मण सिग्देलमार्फत संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका हुन् ।

निजी क्षेत्रलाई ध्वस्त बनाउनबाट बचाउनका लागि राहत प्याकेजको व्यवस्था, कर बुझाउन एक वर्षको म्याद दिनुपर्नेलगायतका माग ज्ञापनपत्रमा समावेश गरिएको छ ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ अटोमोबायल्स डिलर एशोसिएसनका अध्यक्ष सुभाष आचार्य, ट्रान्स्पोर्ट एशोसिएसनका अध्यक्ष नरबहादुर भण्डारी, नेपाल औषधि व्यवसायी संघ कोशीका अध्यक्ष कुमार खतिवडा, मदिरा व्यवसायी संघका अध्यक्ष विनोद केसी, मोरङ ईलेक्ट्रिक संघका अध्यक्ष नविन अग्रवाल, नेपाल मुद्रण उद्योग संघका अध्यक्ष लव घिमिरे, नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिमसिना, विराटनगर हार्डवेयर संघका अध्यक्ष मुकुन्द दाहाल र विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष लक्ष्मी प्रसाईंले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button