Tune to BFM 91.2|Biratnagar

ब्यापारीको तास खालमा प्रहरीको छापा, १२ जना पक्राउ

विराटनगर, १८ भदौ । प्रदेश १ का विभिन्न सहरबाट भेला हुने व्यापारीले मोरङको कानेपोखरीमा सञ्चालन गरेको तासको खालमा प्रहरीले छापा हानेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी दिलिप गिरीको नेतृत्वमा गएको टोलीले हिजो साँझतिर खालमा छापा हानेर तास खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका–७ चालिस बिघेमा चलिरहेको खालबाट प्रहरीले दुई लाख ८९ हजार पाँच सय ३१ रुपैयाँ, चार बुक र मोबाइलहरु बरामद गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका– १ का ३६ वर्षीय विमल गुरुङ, बेलबारी–३ का ३७ वर्षीय कृष्ण लिम्बू, बेलबारी –११ का २८ वर्षीय श्याम लिम्बू, ५२ वर्र्षीय चन्द्र लिम्बू, लेटाङ नगरपालिका–५ का ३१ वर्षीय समीर तामाङ रहेका छन् ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय लक्ष्मीकुमार तामाङ, बिर्तामोड–५ का २७ वर्षीय सञ्जीव घतानी, हल्दीबारी गाउँपालिका–५ का ३६ वर्षीय ताराकुमार जोगी, बुद्धशान्ति गाउँपालिका–४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरीको धरान उपमहानगरपालिका–१६का ३९ वर्षीय रुपजंग लिम्बू, धरान–३ का २९ वर्षीय किरण उदास र इटहरी उपमहानगरपालिका–२० का राजन पौडेल पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु पूर्वका ठूला सहरहरु बिर्तामोड, धरान, इटहरी लगायतका नामुद व्यापारी रहेको प्रहरीले जनाएको छ । कनेपोखरी–७ का चाम्लिङ क्षेत्री भनिने किशोर लुइँटेलको घरमा विभिन्न सहरका व्यापारीहरु जम्मा भएर तास खेलिरहेको सूचना मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्कालाई हिजो दिउँसो आएको थियो ।

त्यही सूचनाका आधारमा खड्काले डीएसपी गिरीको नेतृत्वमा तास खेलिरहेकाहरुलाई नियन्त्रणमा लिन टोली खटाउनु भएको थियो । तास खेलाउने घरधनी लुइँटेल पनि फरार रहेका कारण खोजी भइरहेको एसपी खड्काले बताउनु भयो ।

पक्राउ परेकाहरुविरुद्ध प्रहरीले आज जुवा ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button