ब्राउन सुगरसहित चार जना पक्राउ
विराटनगर, १८ फागुन । मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यसका कारोबारीदेखि नर्सिङ अध्ययन गर्ने विद्यार्थीसम्म छन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेतृत्वको टोलीले पथरीशनिश्चरे नगरपालिका–१ नयाँ सोमबारेबाट २६ वर्षीय सनम मगर र १८ वर्षीय रेश्मे मगरलाई आज बिहान पक्राउ गरेको छ ।
दुवै जना सनमको घरबाट पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट सात ग्राम ८९ मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी गिरीले जानकारी दिनु भयो । उहाँकाअनुसार दुवै जना यसका कारोबारी भएको खुलेको छ ।
भारतको पानी ट्यांकीबाट नेपाल भित्राएर छरछिमेकी युवालाई र विभिन्न स्थानसम्म पुर्याएर बिक्री गर्ने गरेको खुलेको गिरीले बताउनु भयो । यस्तै सुन्दरहरैंचा नगरपालिका–१० का मनीबहादुर मगरको घरमा छापा हानेर प्रहरीले दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनीबहादुरकी छोरी १० वर्षीय रेखाकुमारी मगर र २४ वर्षीय साफुदिन आलम रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले बताउनु भयो ।