Tune to BFM 91.2|Biratnagar

ब्राउन सुगरसहित चार जना पक्राउ

विराटनगर, १८ फागुन । मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यसका कारोबारीदेखि नर्सिङ अध्ययन गर्ने विद्यार्थीसम्म छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पथरीशनिश्चरे नगरपालिका–१ नयाँ सोमबारेबाट २६ वर्षीय सनम मगर र १८ वर्षीय रेश्मे मगरलाई आज बिहान पक्राउ गरेको छ । दुवै जना सनमको घरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेकाको साथबाट सात ग्राम ८९ मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी गिरीले जानकारी दिनु भयो । उहाँकाअनुसार दुवै जना यसका कारोबारी भएको खुलेको छ । भारतको पानी ट्यांकीबाट नेपाल भित्राएर छरछिमेकी युवालाई र विभिन्न स्थानसम्म पुर्याएर बिक्री गर्ने गरेको खुलेको गिरीले बताउनु भयो ।

गिरीले पक्राउ परेकाहरुको साथबाट ब्राउन सुगरको तौल लिने डिजिटल मेसिन पनि बरामद गरिएको जानकारी दिनु भयो । एक ग्राम लागुऔषधको ४० डोज बनाएर एक डोजलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको प्रहरीलाई उद्रित गर्दै हाम्रा सहकर्मी किशोर बुढाथोकीले जनाउनु भएको छ ।

त्यस्तै सुन्दरहरैंचा नगरपालिका–१० का मनीबहादुर मगरको घरमा छापा हानेर प्रहरीले दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनीबहादुरकी छोरी १० वर्षीय रेखाकुमारी मगर र २४ वर्षीय साफुदिन आलम रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले बताउनु भयो ।

पक्राउ परेकाहरुको साथबाट तीन ग्राम ब्राउन सुगर फेला परेको तिमल्सिनाले बताउनु भयो । पक्राउ परेका मध्ये आमल यसका कारोबारी रहेको खुलेको छ । उनले भारतको पानी ट्यांकीबाट ल्याएर ब्राउन सुगर बेच्ने गरेको प्रहरीले जनाएको छ ।

उनी ठेक्का पट्टाको काम पनि गर्छन् । मगर नर्सिङ पढ्दै गरेकी विद्यार्थी भएको डीएसपी तिमल्सिनाले बताउनु भयो । सीएमए सकेर नर्सिङ अध्ययन सुरु गरेकी उनी ब्राउन सुगरको प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । कारोबारी रहेका आलमले प्रयोगकर्तासम्म पुर्याएर बेच्दै गरेको अवस्थामा आलम र मगरलाई नै पक्राउ गरिएको डीएसपी तिमल्सिनाको भनाइ छ ।

ब्राउन सुगरसहित पक्राउ परेकाहरु विरुद्ध आज लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button