भाइको बाच्छी मार्ने दाजु पक्राउ
विराटनगर, १३ मंसिर । गाईको बाच्छी मारेको अभियोगमा मोरङको सुनवर्षी नगरपालिका–२ सुघा टोलका ३० वर्षीय भूपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै भाइ गजेन्द्र राईले पालेको गाईको डेढ वर्षको बाच्छी मारेको अभियोगमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई हिजो साँझ पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।
राईका अनुसार घरयासी विवादका क्रममा भाइले पालेको गाईको बाच्छीलाई भूपेन्द्रले हथौडाले हानेर मारेको खुलेको छ । हथौडाले बारम्बार प्रहार गर्दा बाच्छी घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।
हथौडासहित पक्राउ परेका भूपेन्द्रविरुद्ध कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको डीएसपी राईले बताउनु भयो ।