भारतबाट आउन थाले पेट्रोलियम ट्यांकर

0
311

विराटनगर, २२ असार । मजदुर आन्दोलनका कारण पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनेपछि भारतीय भूमीमै रोकिएका एक सय १९ वटा ट्यांकरलाई आज बिहानसम्ममा नेपाल ल्याई सकिएको छ । नेपाली र भारतीय अधिकारीबीच मजदुरको माग सम्बोधन गर्ने सहमति बनेपछि पेट्रोलियम ढुवानी सूचारु भएको हो । भारतीय पक्षले विभिन्न खाले दुःख र तनाव दिएको भन्दै पेट्रोलियम ढुवानीमा जोगवनी नाकाको साटो निर्माणाधिन आईसीपीको बाटो प्रयोग गर्न पाउनु पर्ने माग राखेर मजदुर आन्दोलित बनेका थिए । उनीले भारतको बरौनी डिपोबाट पेट्रोल र डिजेलको लोड अनलोड नै बन्द गरेका थिए । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव अचार्यले भारतीय पक्षसँगको सहमतिपछि भूमीमै रोकिएर रहेका १ सय १९ वटा ट्यांकर नेपाल ल्याइएको बताउनु भयो । उहाँका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकर अन्य मालबहाक सवारी साधन जस्तो लाममा लगाउन नपर्ने, ट्यांकरको जाँचपासलाई चाँडो र सहज बनाउने, मजदुरमाथि दिइने अनेक खालका तनावको अन्त्य गर्ने, जाँचपासका लागि पेट्रोलियम ट्यांकर भारतीय आईसीपीसम्म लैजान नपर्ने र भारतको बथनाहामै पार्किङ गरेर जाँचपासको व्यवस्था मिलाउने सहमति भएको छ । आईसीपी भने निर्माणाधिन अवस्थामै रहेका कारण निर्माण सकिएपछि मात्रै त्यहाँको बाटो प्रयोग गर्न पाउने र अहिले तत्काललाई पुरानै बाटो प्रयोग गर्ने सहमति भएको आचार्यको भनाइ छ । खाली ट्यांकर विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ फर्काउँदै गर्दा यही असार १४ गते पेट्रोलियम ट्यांकरका चार जना चालक जोगवनीमा पक्राउ परेका थिए । त्यसको विरोधमा ढुवानी मजदुर विभिन्न माग राखेर आन्दोलित बनेपछि पूर्वमा पेट्रोलियम अनियमित बनेको थियो । चार दिनदेखि ढुवानी ठप्प हुँदा पूर्वमा पेट्रोलियम अभाव सुरु भएको थियो । नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले भारतीय पक्षसँग सहमति भएपछि पेट्रोलियम आयात सहज बनेको बताउनु भयो । उहाँका अनुसार चार दिनदेखि आयात अनियमित बन्दा पूर्वमा अभाव सुरु भएको थियो । प्रमुख यादवका अनुसार नेपाल भित्रिएका मध्ये १ सय ९ ट्यांकर डिजेल र पेट्रोल विभिन्न पम्पहरुमा पुर्याइसकिएको र आज साँझदेखि सबै पम्पबाट वितरण सुरु भइसकेकाले अभाव हटेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here