Tune to BFM 91.2|Biratnagar

भारतमा कोरोना संक्रमित बढे

विराटनगर, २ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १० हजार नाघेको छ । एकै दिन १ हजार बढी संक्रमित फेला परेपछि त्यहाँका कुल संक्रमितको संख्या १० हजार ५ सय ४१ पुगेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ५८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० भन्दा बढि कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो । प्रकोप न्यूनीकरणका लागि भारतले मंगलबार मात्रै जारी लकडाउन ३ साता लम्ब्याउने निर्णय गरेको छ ।

यसैविच विश्वभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार ६ सय पुगेको छ । १९ लाख ३३ हजार भन्दा बढि संक्रमित हुँदा ४ लाख ५९ हजार भन्दा बढि मानिस उपचार पछि घर फर्केका छन् । अमेरिकाको अवस्था भयावह छ, जहाँ संक्रमितको संख्या ५ लाख ८७ हजार नाघेको छ भने २३ हजार ६ सय बढिको मृत्यु भएको छ ।

अमेरिका पछि स्पेनमा सबै भन्दा बढि संक्रमित छन । त्यहाँ १ लाख ७२ हजार ५ सय भन्दा बढि संक्रमित हुँदा १८ हजार भन्दा बढिको ज्यान गएको छ । यस्तै इटालीमा १ लाख ५९ हजार ५ सय संक्रमित मध्ये २० हजार ४ सय बढिको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button