Tune to BFM 91.2|Biratnagar

भारतीय एक नागरिकसहित तिन संक्रमितको मृत्यु

विराटनगर, ५ मंसिर । मोरङका अलगअलग कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक भारतीय नागरिकसहित तिन जना वृद्ध पुरुषको आज बिहान मृत्यु भएको छ ।

२ जनाको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र एक जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । इटहरीका कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनु भयो । उहाँका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

यस्तै भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय अर्का वृद्धको पनि उपचारका क्रममा आज बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमै मृत्यु भएको छ । कोरोनाका कारण नेपाल–भारत सीमामा आवतजावत गर्न रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा उनी कसरी नेपाल छिरेभन्ने खुल्न सकेको छैन । गत बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई हिजो कोरोना पुष्टि भएको हो । मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने यकिन भइनसकेको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताउनु भयो । कोरोना संक्रमण पुष्टि भएपछि मोरङको कोभिड अस्पतालमा उपचाररत विदेशी नागरिकको मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यस्तै झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएपछि थप उपचार सुरु गरिएको दाहालले बताउनु भयो । उपचारकै क्रममा वृद्धको मृत्यु भएपछि शव व्यवस्थापनका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button