Tune to BFM 91.2|Biratnagar

भोजपुर–विराटनगर उडान छ महिनादेखि बन्द

विराटनगर, २६ फागुन । विगत ६ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष मार परेको छ ।

बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टर यात्रा गर्न बाध्य छन् । एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको बाटोमै मृत्युसमेत हुने गरेको छ । विभिन्न समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेपछि सर्वसाधारणलाई सास्ती भएको हो ।

उडान नहुँदा लेगुवा पाख्रीबास सडकखण्डको कच्ची बाटोले यात्रुलाई झनै सास्ती हुने गरेको छ । सरोकारवाला पक्षले बेवास्ता गर्नाले पनि नियमित उडान गराउन नसक्दा सर्वसाधारण लामो यात्रा गर्नुपरेको यात्रुले बताएका छन् ।

यसअघि हप्ताको आइतबार, मङ्गलबार र बिहीबार उडान भर्दै आएको नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या घटेकाले केही समयका लागि उडान रद्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ ।

सर्वसाधारणको माग बढ्दै गएकाले उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग समन्वय गरी माथिल्लो निकायमा निवेदन गरिएको निगमका प्रमुख दिनेश सुन्दासले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button