Tune to BFM 91.2|Biratnagar

भोली देखि सुरु हुने प्रदेशसभा बैठकको तयारी पूरा

विराटनगर ६ माघ । प्रदेश १ प्रदेशसभा सचिवालयले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारी पूरा भएको जनाएको छ । सचिवालयले बैठकमा कुनै किसिमको अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीलाई फलामको पातामा वेल्डिङ गरेर जोडिएको छ ।

बैठक कक्षमा नेकपा औपचारिक रूपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखिएको छ । ४७ जना मर्यादापालक रहेकामा अरु १० जना थपिएको पनि सचिवालयले जनाएको छ ।

दर्शकहरु र पत्रकारका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था मिलाइएको सचिवालयका सचिव गोपाल पराजुलीले बताउनुभयो । सो हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने उहाले बताउनुभयो ।सभामुख प्रदीपकुमार भण्डारीले भने कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छैन ।

सचिव पराजुलीले समितिको बैठक सभामुखको अधिकारको विषय भएको र त्यो भोली बिहानसम्ममा बोलाउन सक्ने बताउनुभयो । भोलीदेखि बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुँदैछ ।

नेकपा दाहाल–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएकामा ५ जनाले हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा प्रस्ताव पारित गराउन ४७ मत चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button