भ्रष्टाचार विरोधी सञ्जेल श्रममा हाजिर,बिचौलिया र भ्रष्टाचारीलाई प्रवेष निषेध

0
1091

विराटनगर, २२ फागुन । भ्रष्टाचार विरोधी कर्मचारीको छवि बनाउनु भएका नेपाल सरकारका उप–सचिव तथा श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आजदेखि कार्यालयमा हाजिर हुन पाउनु भएको छ । सर्वोच्च अदालतले बाटो खुल्ला गरिदिएपछि भ्रष्टाचार विरोधी अभियन्ता उहाँ बिहान १० बज्न १५ मिनेट अगाडि नै विराटनगरस्थित श्रम कार्यालय पुग्नु भएको थियो । गत असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर हुनु भएका सञ्जेललाई ७० दिनमै सरुवा गरिएको थियो । उक्त सरुवाको विरोधमा सञ्जेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गर्नु भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार (३ दिनअघि) अन्तरिम आदेश जारी गरेको थियो । कार्यालयमा हाजिर हुँदै सञ्जेलले आफ्ना तीन कामको प्राथमिकता पनि तोक्नु भएको छ । सञ्जेलले श्रम कार्यालयमा सर्वसाधारणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योगको अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घूसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारवाही गर्ने बताउनु भएको छ । आफूलाई सरुवा भएपछि पुनः फर्केर श्रम कार्यालयमा आउने आसा नभए पनि सम्मानित अदालतले न्याय दिएको बताउँदै सञ्जेलले भ्रष्टाचार विरोधी अभियान्तालाई सर्वसाधारणले कति माया गर्दा रहेछन् भन्ने कुरा यसैपटक थाहा पाएको बताउनु भयो । जनताले दिएको माया र सद्भावले ४० वर्ष नेपाल सरकारको कर्मचारी भएर काम गरेको र सफल भएको अनुभूति भएको उहाँको भनाइ छ । आफू श्रम कार्यालय आएपछि कोही पनि उद्योगपति त्रसित हुनुपर्ने कारण नभएको बताउँदै सञ्जेलले श्रम ऐन भने पूर्ण रुपमा लागू हुनुपर्नेमा जोड दिनु भयो । आफूलाई सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्मका लागि पूर्णकालिन अन्तरिम आदेश भएको जानकारी दिँदै, श्रमीकको पक्षमा प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले गरेको सरुवा कानूनसम्मत नदेखिएकाले निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । सञ्जेलले आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दैै सर्वोच्चमा फागुन १७ गते रिट निवेदन दायर गर्नु भएको थियो । उपसचिव सञ्जेललाई गत असोज ११ मा निर्वाचन आयोगको क्षेत्रीय निर्देशकबाट वरिष्ठ श्रम अधिृकतका रुपमा श्रम कार्यालयमा विराटनगरमा सरुवा गरिएको थियो । त्यसलगत्तै गत पुस ५ गते व्यावसायिक सीप तथा तालीम प्रतिष्ठान इटहरीमा सरुवा गरिएको थियो । आफ्नो सरुवा घुस्याहा र भ्रष्टाचार गर्नेहरुको जोडबलमा गरिएको भन्दै सञ्जेलले सरकार र मन्त्रालयप्रति आक्रोश व्यक्त गर्दै पत्रकार सम्मेलन गरेपछि उहाँको चर्चा चुलिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here