Tune to BFM 91.2|Biratnagar

मध्यरातमा चिताबाटै उठाइयो शव

विराटनगर, ९ मंसिर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएका एक पुरुषको शव चिताबाट उठाएर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका मोरङको केराबारी गाउँपालिका– ९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाका लगाइएको भेटिएपछि आफन्तले चिताबाट शव उठाएर पोष्टमार्टमका लागि लगेका हुन् । अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा अस्पताल भनाए गराएका थिए । शुक्रबार टाउकोको शल्यक्रिया गरेका उनको शनिबार मृत्यु भएको थियो ।

तर अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै रोकेर राख्यो । स्थानीयले पुनः चन्दा उठाएर हिजो साँझ मृतकको शव बुझे । राति करिब ८ बजे चितामा राखेर आगो लगाउन अघि कपडा खोल्दा पेटमा प्वाल देखिएको थियो । नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि गर्न मानेनन् र राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेको नेकपा केराबारी गाउँपालिकाका नेता राम कार्कीले जानकारी दिनु भयो ।

स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म पुर्याइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताउनु भयो । यसैबीच टाउकोको शल्यक्रिया गर्दा पेटमा चिर्नु सामान्य रहेको चिकित्सकले बताएका छन् ।

नोबलका विषेशज्ञ डाक्टर प्रकाश काफ्लेका अनुसार टाउकोबाट पाइप निकालेर नाइटो नजिकै पेटभित्र राखिन्छ । यो प्रकृयालाई मेडिकल भाषामा ‘भेन्टीक्लो प्लेटेनियमसन्ट’ भनिन्छ । ‘टाउकोको शल्यक्रिया गर्दा पेटमा पाइप राख्न प्वाल पारिन्छ,’ उहाँले भन्नु भयो, ‘यो सामान्य प्रकृया हो ।

टाउकोमा कानछेउबाट पाइप निकालिन्छ र पेटमा नाइटो छेउमा राखिन्छ ।’ टाउकोमा जमेको पानी बाइपास गर्नका लागि पाइपको प्रयोग हुने गरेको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button