Tune to BFM 91.2|Biratnagar

मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

धरान, १७ फागुन । मनाङ मस्र्याङ्दी क्लबले धरानमा सम्पन्न २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै मनाङले उपाधि उचालेको हो ।

धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक–एक गोल गरे । पुलिसका लागि भने कप्तान भोला सिलवालले एक गोल फर्काए । मनाङले खेलको दसौं मिनेटमा दयानन्दको गोलमा सुरुआती अग्रता बनाएको थियो । दयानन्दले पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए ।

खेलको पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रहेको थियो । यस्तै खेलको ५० औं मिनेटमा विशाल लिम्बूले गोल गर्दै मनाङलाई अग्रता दिलाए । यसैगरी खेलको ६५ औं पुलिसले पेनाल्टीको मौका पाएको थियो । मनाङको पोस्टअगाडि डी एरियामा पुलिसका जुमानु राईमाथि खराब ट्याकल भएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

जसमा पुलिसका कप्तान भोला सिलवालले सहजै गोल गरेका थिए । यस्तै खेलको इन्जुरी समयमा मनाङका विमल रानाले उत्कृष्ट गोल गरे । उनको गोलसँगै मनाङले पुलिसलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो । यससँगै मनाङले मोफसलको सर्वाधिक चर्चित गोल्डकपको उपाधि आफ्नो बनाएको छ ।

छैटौं पटक फाइनलमा पुगेको मनाङले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यता, ११औं पटक फाइनल प्रवेश गरेको नेपाल पुलिस क्लबको छैटौं पटक उपाधि जित्ने सपना असफल भयो । उपाधिसँगै मनाङले नगद १० लाख जितेको छ । उपविजेतामै सीमित पुलिसले नगद ५ लाख जितेको छ ।

प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button