Tune to BFM 91.2|Biratnagar

मनाङ मस्र्याङ्दी क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

विराटनगर १२ फागुन । मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनल खेलमा बेलबारी फुटबल क्लबविरुद्ध ४–० गोलको शानदार जित निकाल्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्दले २ गोल गरे भने निशान लिम्बू र विमल रानाले समान एक–एक गोल गरे ।

मनाङले खेलको २३औं मिनेटमा निशान लिम्बूको गोलमा सुरुआती अग्रता बनाएको थियो । निशानले अञ्जन विष्टको पासमा गोल गरेका थिए । यस्तै खेलको ४३औं मिनेटमा विमल राणाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । अञ्जनले गरेको क्रसमा विमलले गोल गर्दै मनाङलाई पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए । यसैगरी खेलको ५१औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङको अग्रता तेब्बर बनाए ।

यसैगरी खेलको ६६औं मिनेटमा दयानन्दले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौथो गोल गरे । त्यसपछि बाँकी समय गोल भएन र मनाङले शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । खेलमा दुई गोल गरेका दयानन्द म्यान अफ द म्याच घोषित भए । यससँगै मनाङ सेमिफाइल पुग्ने तेस्रो क्लब बन्यो । यसअघि यूके एफसी भारत र विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फूटबल क्लबलाई हराउँदै युके एफसी अन्तिम चारमा प्रवेश गरेको हो ।

अब मनाङले सेमिफाइनलमा यूकेएफसीसँग खेल्नेछ । यस्तै प्रतियोगिताको दोस्रो खेलमा पुलिसले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतियोगितामा ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दुई विदेशी क्लबसहित आठ टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button