Tune to BFM 91.2|Biratnagar

महामारीमा पनि रोकिएन इन्धनको तस्करी, सशस्त्र प्रहरीले गर्यो बरामद

विराटनगर, १५ जेठ । कोरोना महामारीले अवस्था जर्जर बनिरहेका बेला नेपालबाट भारततिर विगतदेखि नै हुने गरेको इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी अझै रोकिएको छैन । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको समयमा पनि मोरङबाट इन्धनको तस्करी भइरहेको हो ।

कोरोना भाइरस सङ्क्रमण दर उच्च रहेको भारततिर मोरङको सिमावर्ती नाका हुँदै लैजाँदै गरेको अवस्थामा रतुवामाईबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा इन्धन नियन्त्रणमा लिएपछि तस्करीको पुष्टि भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट इन्सपेक्टर (प्रहरी निरीक्षक)को नेतृत्वमा खटिएको टोलीले आज बिहान पाँच हजार आठ सय लिटरजति इन्धन नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले ट्रकमा राखेर नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा २४ ड्रम इन्धन मोरङको रतुवामाई नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको बताउनुभयो ।

उहाँका अनुसार ट्रकसहित तस्करीको २३ ड्रम डिजेल र एक ड्रम पेट्रोल बरामद गरिएको हो । एउटा ड्रमभित्र लगभग दुई सय ५० लिटर डिजेल छ । २३ वटा ड्रममा डिजेल मात्रै पाँच हजार सात सय लिटरजति रहेको जानकारी पौडेलले दिनु भयो । एउटा मात्रै ड्रममा बरामद भएको पेट्रोल भने एक सय लिटरजति रहेको उहाँको भनाइ छ । सशस्त्रको टोलीले इन्धन तस्करीमा प्रयोग गरिएको मे १ ख १५०९ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ इन्धन तस्करी गर्नेहरु ट्रक छाडेर फरार भएका थिए । चालकसहित अरु व्यक्तिहरु भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा तस्करीको इन्धन बरामद भएको जानकारी राईले दिनु भयो । एसपी पौडेलका अनुुसार नेपाल–भारत सीमानजिकबाट ट्रकसहित तस्करीको इन्धन बरामद भए पनि त्यसको बिलविजक फेला परेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button