Tune to BFM 91.2|Biratnagar

महिलालाई नशालु पदार्थ सुँघाएर घरमा लुटपाट

विराटनगर, १५ फागुन । महिलालाई नियन्त्रणमा लिँदै नशालु पदार्थ सुँघाएर मोरङको केराबारीको एउटा घरमा गयराति लुटपाट गरिएको छ । केराबारी गाउँपालिका–७ चौबिसेस्थित गणेशबहादुर विकको घरमा भएको नगद र सुनको सिक्री लुटिएको हो ।

गणेशबहादुर भने काम विशेषले केराबारीकै पाटी गाउँमा पुगेको पाइएको छ । श्रीमती उर्मिला विकलाई नशालु पदार्थ सुँघाएर बेहोस बनाउँदै घरभित्र लुटपाट मच्चाएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । घरमा ११ र १३ वर्षका दुई नाबालक छोराछोरीसहित उर्मिला मात्रै बसेको अवस्थामा घटना भएको वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूको भनाइ छ । उहाँका अनुसार छोराछोरीसँग सुतिरहेका बेला घरमा पालेको भैँसीको पाडो बाँधेको ठाउँबाट खुस्किएको हुनसक्ने ठानेर राति ११ बजे घरको ढोका खोलेर उर्मिला बाहिर निस्कन खोज्नु भएको थियो ।

तर ढोकाबाट बाहिर निस्कन नपाउँदै मास्क लगाएर आएका अपरिचित दुई जना नकापधारी युवाले नियन्त्रणमा लिई नशालु पदार्थ सुँघाउँदै उहाँलाई बेहोस बनाएर घरभित्र पसी लुटपाट मच्चाएको वडा अध्यक्ष लिम्बूको भनाइ छ । घरभित्र रहेको ४० हजार रुपैयाँ नगद र एक तोलको सुनको सिक्री लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ । महिलामाथि कुनै कुटपिट र आक्रमण भने नभएको प्रहरीको भनाइ छ । घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । एसपी खड्काले लुटेरा समूहको खोजी थालेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button