महिला टी–२० स्मास क्रिकेटमा नेपाल फाइनल प्रवेश

0
84

काठमाण्डौ ४ माघ । थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ११.१ ओभरमा सबै विकेट गुमाएर मात्र २७ रनमा समेटियो । इन्डोनेसियाका लागि ओपनर यूलिया आन्ग्रेनीले बनाएको १३ रननै सर्वाधिक बन्न पुग्यो । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । इन्डोनेसियाका ४ खेलाडी डक आउट भए ।नेपालका लागि कप्तान रुविना क्षेत्री वेलवासेले घातक बलिङ गरिन् । उनले ३ ओभरमा २ मेडन सहित २ रन खर्चर ३ विकेट लिइन् । त्यस्तै कविता कुँवर, नेरी थापा, सरिता मगर र सिता राना मगरले १–१ विकेट लिए ।यस अघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियो । नेपालका लागि ओपनर सिता राना मगरले ६२ बलमा १ चौका प्रहार गर्दै ४८ रन बटुलिन् । त्यस्तै इन्दु बर्माले ३३ बलमा २ चौका प्रहार गर्दै ३७ रनमा नट आउट रहिन् ।पहिलो विकेटका लागि काजल श्रेष्ठ र सिताले ३१ रनको साझेदारी गर्दै बलियो सुरवात दिलाएका थिए त्यस्तै दोस्रो विकेटका लागि सिताले इन्दु बर्मासँग ७० रनको साझेदारी गरेपछि नेपालले बलियो योगफल तयार पारेको थियो । काजल श्रेष्ठ १४ र नेरी थापाले ५ र कप्तान रुविना क्षेत्री वेलवासेले २ रन जोडे ।नेपालले फाइनलमा आज दिउँसो हुने थाइल्यान्ड र यूएईबीचको विजेतासँग शनिबार खेल्ने छ । नेपालले समुह चरणमा चीन, यूएई, मलेसिया र थाइल्यान्ड ए लाई पराजित गर्दै समुह विजेताको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here