Tune to BFM 91.2|Biratnagar

महिला बेच्न खोज्ने दुई जना पक्राउ

विराटनगर २६ फागुन । सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगर हुँदै सीमा नाका कटाएर भारततर्फ लैजान खोज्दै गर्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई विराटनगर–१६ दक्षिण गेटबाट नियन्त्रणमा लिइएको हो । दुबै जनाविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो । राम्रो कमाईको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्राउ गरिएको हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २३ र ३१ वर्षीया दुई महिलालाई पनि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको थियो । तामाङ थरका दुबै जना महिलाले भारतमा लगेर धेरै पैसा कमाई हुने राम्रो काममा लगाइदिने भन्दै आफूहरुलाई काठमाडौंदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन् । बसको टिकट काट्दा पैसा पनि अर्कैले तिरिदिएको उनीहरुले बताएका छन् ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेको कारण दुबै महिला लामो समयदेखि कामको खोजीमा रहेकोले प्रलोभन देखाउँदै विराटनगर ल्याइएको खुलेको मोरङ प्रहरीले जनाएको छ । दुबै जना काठमाडौंबाट बस चढेर फागुन २० गते विराटनगर आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button