महिला साफ च्याम्पियनसीपको तयारी तीव्र

0
173

विराटनगर, ६ फागुन । पाँचौं महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको मिति नजिकिंदै जाँदा विराटनगरमा तयारी तीव्र पारिएको छ । हालसम्म उपाधि विहीन बनेको नेपालमा महिला साफ पहिलो पटक आयोजना हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक अन्तर्राराष्ट्रिय स्तरको प्रतियोगिता आयोजनाको जिम्मा मोफसललाई दिएपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा तयारी तीव्र पारिएको हो । विराटनगरको शहीद रंगशालामा यही फागुन २८ देखि चैत ८ गतेसम्म प्रतियोगिता हुने भएपछि तयारीलाई तीव्रता दिइएको एन्फाले जनाएको छ । एन्फाका बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता तयारी समितिका संयोजक पंकज नेम्वाङले प्रतियोगिता आयोजनमा कुनै पनि कमजोरी हुन नदिने हिसावमा तयारीका सबै कामलाई अगाडि बढाइएको जानकारी दिनु भयो । उहाँले मैदानदेखि लिएर खेलाडी, अफिसियल, पाहुना र अतिथीहरुका लागि होटलहरु बुकिङ, सडक र अन्य संरचना निर्माणलाई तीव्र पार्दै पाहुनाको स्वागत सत्कारका लागि अहिलेसम्म भएका तयारीबाट एन्फा सन्तुष्ट रहेको जानकारी दिनुभयो । साफ च्याम्पियनसीप प्रचारप्रसार समितिका संयोजक एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले साफ लक्षित प्रचारप्रसारको काम पनि सुरु गरिएको जानकारी दिनु भयो । नेपालमा मात्रै नभइ भारतका जोगवनी, विहार, सिलिगुडी, सिक्किमसम्म यसको प्रचारप्रसार गरिने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागिता जनाउने मध्येसमूह ‘ए’ मा नेपालसंगै बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स छन् । एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण भोलीदेखि सुनसरीको इटहरीमा शुरु गर्ने प्रचार प्रसार समितिका संयोजक राईले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here