महिला साफ च्याम्पियनसीप अन्तिम समयमा आएर पछि हट्यो पाकिस्तान ,खेल तालिका परिवर्तन

0
357

विराटनगर, १२ फागुन । अन्तिम समयमा आएर पाकिस्तान नआउने भएपछि नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा ६ वटा देशले मात्रै सहभागिता जनाउने भएका छन् । विराटनगरमा यही फागुन २८ गतेबाट हुने प्रतियोगिताको पाँचौ संस्करणमा सहभागी हुन नसक्ने जानकारी गराउँदै पाकिस्तान पछि हटेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) र साफले पाकिस्तान बिनाकै पछिल्लो खेल तालिका सार्वजनिक गरेका छन् । पाकिस्तान नआउने भएपछि आयोजक राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र मालदिभ्सको मात्रै प्रतियोगितामा सहभागिता रहने एन्फाका प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले बताउनु भयो । उहाँका अनुसार खेल तालिकमा पाकिस्तान बाहेकका सार्क राष्ट्रमा आवद्ध अन्य ६ वटा मुलुकहरुलाई समेटिएको छ । धेरै प्रयास गरे पनि पाकिस्तानलाई सहभागी गराउन नसकिएको राईले बताउनु भयो । उहाँका अनुसार पाकिस्तानले प्रतियोगितामा सहभागिता जनाउन नसक्नुको कारण खुलाएको छैन । सन् २०१६ को साफ च्याम्पियनसीप पनि पाकिस्तान बिना नै आयोजना गरिएको थियो । सन् २०१० बाट सुरु भएको प्रतियोगितामा पाकिस्तानले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । चौथो संस्करण सकिंदा तीनवटा प्रतियोगितामा मात्रै भाग लिएको पाकिस्तान एउटामा मात्रै सेमीफाइनल पुग्यो । तीनवटा प्रतियोगितामा कूल १० वटा खेल खेल्दा ६ वटामा हार बेहोर्दै ४ वटामा मात्रै जित निकाल्न सक्यो । १० खेलमा ३८ गोल खाएको उसले १३ गोल मात्रै फर्काउन सक्यो । पाकिस्तानबिना नै प्रतियोगिता आयोजना गरिने भए पनि समय र मिति भने हेरफेर नगरिएको एन्फा प्रवक्ता राईले बताउनु भयो । तालिका अनुसार समूह ‘ए मा’ आयोजक राष्ट्र नेपाल, भुटान र बंगलादेश रहेका छन् । त्यसैगरि समूह ‘बी’मा साविक विजेता भारतसहित श्रीलंका र मालदिभ्स छन् । सहिद रंगशालामा फागुन २८ गते हुने उद्धघाटन खेलमा आयोजक मुलुक नेपालले भुटानको सामना गर्नु पर्ने छ । उपाधि भीडन्त पूर्व निर्धारित मिति चैत्र ८ गतेनै हुनेछ । प्रतियोगितामा सहभागी टोलीका लागि प्रशिक्षण मैदानका रुपमा विराटनगरको विराटनगर जुटमिल्स मैदान र डिपिएस स्कुलको मैदानको व्यवस्था गरिएको छ । यस अघिका चारवटै साफ महिला च्याम्पियनसीपको उपाधि भारतले कब्जा गरेको छ । नेपाल तीन पटक उपविजेता बन्यो । बंगलादेश साविकको उपविजेता टिम हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here