Tune to BFM 91.2|Biratnagar

मानव अधिकारका सवालहरु परिवर्तन हुँदै गए : मन्त्री घिमिरे

विराटनगर, २५ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मानव अधिकार असमानतासँग जोडिएको बताउनुभएको छ । नेपालको सन्दर्भमा मानव अधिकार स्वास्थ्य उपचार, महिला अधिकार, महिला हिंसा, बालविवाहसँग जोडिएको उहाँले बताउनुभयो ।

असमानतासँग जोडिएका मुद्धालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो । मानव अधिकार सञ्जाल विराटनगर र महिला मानव अधिकार रक्षक सञ्जालले ७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । उहाँले पञ्चायतकालमा मानव अधिकारलाई राजनीतिक अधिकारको अंगका रुपमा लिने गरिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो,‘ परिवर्तनकारीले मानव अधिकारलाई राजनीतिक अधिकारसँग जोडेर उपयोग गर्न खोज्ने र सत्तापक्षले सत्ता विरोधि राजनीति गरेको अर्थमा बुझ्ने गर्थे ।’ बहुदल हुँदै लोकतन्त्रसम्म आईपुग्दा मानव अधिकारको क्रियाकलापहरु परिवर्तन हुँदै गएको उहाँले बताउनुभयो । मानव अधिकार अहिले रोजगारी र जिविकासँग जोडिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अहिले मानव अधिकार उल्लंघनका घटनाहरु धेरै भईरहेपनि राज्य निरिह भएर बसेको आरोप लगाउनुभयो । उहाँले मानव अधिकार रक्षाका लागि सवै एकजुट हुन आवस्यक रहेकोमा जोड दिनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले देशमा लोकतन्त्र र जनताको हातमा सार्वभौमसत्ता आउँदा हत्या आतंक बढ्ने गरेको बताउनुभयो । उहाँले लोकतन्त्रमा हत्या र आतंक किन बढ्छ भनि प्रश्न गर्नुभयो ।

यसैवीच कार्यक्रममा विराटनगरका दुई मानवअधिकारकर्मीलाई सम्मानित गरिएको छ । लामो समयदेखि मानव अधिकारको क्षेत्रमा योगदान पुर्याएका मणिकुमार अज्र्याल र विष्णु शर्मा पन्तलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सम्मानित गर्नुभयो । सञ्जालले हरेक वर्ष दिवसका अवसरमा २ जना मानवअधिकारकर्मीलाई सम्मानित गर्दै आएको महिला मानवअधिकार रक्षक सञ्जालकी प्रदेश संयोजक मन्जिता उपाध्यायले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button