Tune to BFM 91.2|Biratnagar

मानव अधिकार रक्षाको अभियानमा नेपाल कमजोर : अधिकारकर्मी

विराटनगर, १९ मंसिर । मानव अधिकार रक्षाको अभियानमा नेपाल कमजोर हुँदै गएको अधिकारकर्मीहरूले बताएका छन् । सरकारले मानव अधिकारका विषयलाई प्राथमिकतामा नराख्दा नेपाल कमजोर बनेको उनीहरुको भनाई छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालय विराटनगरले आज आयोजना गरेको मानव अधिकारसम्बन्धी (पाँचौँ) राष्ट्रिय कार्ययोजना परामर्श तथा अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मीहरूले सरकारले मानव अधिकारका मुद्दालाई प्राथमिकतामा नराख्दा नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको धारणा राखेका हुन् । प्रदेश १ नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले सरकारले मानव अधिकारका विषयलाई प्राथमिकतामा नराखेका कारण नेपालको मानव अधिकारको अवस्था कमजोर भएको बताउनु भयो । उहाँले स्थायी राज्य अर्थात् सरकारी कर्मचारीहरूले मानव अधिकारको विषयलाई समय सापेक्ष रूपमा रूपान्तरण नगर्दा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको बताउनुभयो ।

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजनीति नेतृत्वले आफूलाई आवश्यक परेको बेला मानव अधिकारका मुद्दालाई अघि बढाउने तर कार्यान्वयन गर्नुपर्ने अवस्थाका राजनीतिक नेतृत्व नै अनिच्छुक देखिने गरेको बताउनु भयो । उहाँले २०४६ सालमा भएको आन्दोलनमा मानव अधिकारका विषय प्यापक रूपमा उठेर र पछि ति मुद्दा उठाउने राजनीतिक नेतृत्व कार्यान्वयन गर्ने ठाँउमा पुगेपछि मानव अधिकारका मुद्दालाई बिर्सिएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निमित्त कार्यालय प्रमुख गीता दहालले संविधान अङ्गका रूपमा मानव अधिकारको संरक्षण,सम्वद्र्धन र प्रवद्र्धनका लागि राष्ट्रिय मानव अधिकार आयोगको स्थापना भएपनि नेपालमा आयोग स्थापनाका लागि नागरिक समाजले महत्वपूर्ण भूमिका खेलेका मात्र आयोग स्थापना सम्भव भएको बताउनु भयो ।

इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले नेपालमा मानव अधिकार रक्षाका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण भएको बताउँदै संविधानले प्रदान गरेका मौलिक हकलाई कार्यान्वयन गर्नका लागि राज्यलाई जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button