Tune to BFM 91.2|Biratnagar

मास्क र पञ्जा नलगाउनेलाई गाडी चढ्न रोक

विराटनगर, १३ साउन । मास्क र पञ्जा नलगाउने यात्रुलाई प्रदेश १ मा ट्राफिक प्रहरीले गाडी चढ्न रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले मुहारमा मास्क र हातमा पञ्जा अनिवार्य लगाउनु पर्ने नियम ट्राफिक प्रहरीले लगाएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले सवारी चालकले पनि मास्क, पञ्जा अनिवार्य लाउनु पर्ने र सेनीटाइजर प्रयोग गर्नु पर्ने नियम कडाईका साथ लागू गरिएको बताउनु भयो ।

कोरोनाले महामारीको रुप लिइरहेका बेला निगरानी बढाएर सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारिएको उहाँको भनाइ छ । पोदारले यात्रा गर्ने क्रममा यात्रु र सवारी साधनका कर्मचारी असुरक्षित नहुन् र उनीहरुमा संक्रमण नहोस् भन्ने उदेश्य राखिएको बताउनु भयो ।

उहाँकाअनुसार ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरेर सवारी साधनको अनुगमन गर्ने काम भइरहेको छ । सवारी साधनका चालक र सहचालकलाई पनि मास्क र पञ्जा नलगाउने यात्रुलाई गाडी नचढाउन निर्देशित गरिसकिएको उहाँले बताउनु भयो ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले फिल्डमा खटिने ट्राफिकलाई सतर्कता अपनाउँदै संक्रमणबाट सबैलाई जोगाउन सवारी साधनमा नियमको पालना भएनभएको अनुगमन गर्न निर्देशन दिइसकिएको बताउनु भयो ।

नियमको पालना गर्नेलाई पहिलो चरणमा सम्झाईबुझाई गर्ने र दोस्रो चरणमा कारबाही थाल्ने तयारी रहेको उहाँको भनाइ छ । चालक, सहचालक तथा यात्रुले सवारी चढेर ओर्लिएपछि अनिवार्य रुपमा सावुन पानीले हात धुनु पर्ने, यात्रु ओसारपसार गरिसकेपछि प्रत्येक पटक सफा गरी सवारी साधनलाई जीवाणुरहित (डिसइन्फेक्ट) गर्नु पर्ने, प्रत्येक सवारीमा सेनीटाइजर राखेर प्रयोगमा ल्याउनु पर्ने, सिट क्षमताको आधा मात्रै यात्रु चढाउनु पर्ने, चालकले फेस शिल्डको प्रयोग गर्नु पर्ने नियम ट्राफिक प्रहरीले लगाएको छ ।

त्यस्तै यात्रुसँग साविकको ५० प्रतिशत भन्दा बढी भाडा लिन नपाइने, दूरी कायम हुनु पर्ने, एकअर्कामा हात नमिलाइकन नमस्कारका साथ स्वागत सम्मान गर्नु पर्ने, रुघा, खोकी र ज्वरो भएका यात्रुले सवारी साधन प्रयोग गर्न नपाइने नियम लागू गरिएको छ । रुघा, खोकी र ज्वरो भएका चालकले गाडी चलाउन नपाइने, सावुन पानीले हात धोइरहनु पर्ने र सेनीटाइजरको प्रयोग गरिरहनु पर्ने नियम पनि रहेको छ ।

ट्राफिक प्रहरीले अतिआवश्यक काम बाहेक यात्रा नगर्न र सवारी साधनमा अनआवश्यक भीडभाड नगर्न सबैमा अनुरोध गरेको छ । त्यस्तै कोरोना संक्रमणबाट बच्न जथाभावी नथुक्न, सिँगान नपुछ्न, सवारी साधनमा जथभावी नछुन, हातले मुख, आँखा, नाक समेतका अंग नछुन तथा व्यक्तिगत सजगकता, सतर्कता र सावधानी अपनाउन सबैमा आग्रह गरिएको एसपी शर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button