Tune to BFM 91.2|Biratnagar

मिक्लाजुङमा राखियो संयुक्त सुरक्षा वेश

विराटनगर, २८ मंसिर । मोरङको मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको विभत्स हत्यापछि मिक्लाजुङ–१ आइतबारेमा आजबाट नेपाल र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेश राखिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले शिषक श्रेष्ठको गत मंगलबार बिहान घरैबाट अपहरण गरेर हत्या गरेको थियो । स्थानीय स्तरको सुरक्षा अवस्थालाई मजवुत बनाउन एकै स्थानबाट काम गर्ने गरी र मोरङ जिल्लाको पूर्वी–उत्तरी भेगको सुरक्षा व्यवस्था मिलाउने गरी पहिलो पटक अस्थायी रुपमा संयुक्त वेश स्थापना गरिएको हो । प्रहरी निरीक्षक सुमन बुढाथोकीको नेतृत्वमा ३६ सशस्त्र र प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा १५ नेपाल प्रहरी गरेर ५१ जनाको संयुक्त टोली वेशमा खटाइएको छ । मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमिते लगायत घटनास्थल एवं आसपासका क्षेत्र र छिमेकी जिल्ला लक्षित विशेष कारवाही चलाएर खोजी जारी राखिएको भए पनि घटनामा संलग्न पत्ता लगाउन सुरक्षाकर्मीलाई मुस्किल परिररहेको छ । मिक्लाजुङको सुरक्षा अवस्था अत्यन्तै कमजोर रहेका कारण शिक्षकको हत्यामा संलग्नको खोजी र पक्राउका लागि संयुक्त सुरक्षा फौज रहने गरी वेश स्थापना गरिएको उच्च सुरक्षा स्रोतले बतायो ।

फौजलाई विप्लव समूहमाथिको कारबाही तीव्र बनाउने, समूहको प्रभाव क्षेत्र मानिएका स्थानलाई आफ्नो नियन्त्रणमा लिने, विप्लव कार्यकर्ताको खोजी र पक्राउका लागि विशेष अप्रेसन सञ्चालन गर्ने, सुरक्षा अवस्थालाई नियन्त्रण बाहिर जान नदिने, शंकास्पदमाथि निगरानी बढाउने तथा पक्राउ गर्ने, एरिया क्लियर गर्ने र नियमित गस्ती एवं पेट्रोलिङ तथा रेकी गरिरहने लगायतका जिम्मेवारी दिइएको छ । वडा अध्यक्ष नरबहादुर राईले स्थानीय बासिन्दाले मिक्लाजुङ आसपासका क्षेत्रमा लामो समयदेखि नेपाल र सशस्त्र प्रहरीको स्थायी पोस्टको माग गर्दै आएको बताउनु भयो । तर शिक्षकको हत्यापछि मात्रै अस्थायी पोस्ट राखिएको छ ।

गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन नसक्दा निरिह र निहत्था शिक्षकको हत्या हुन पुगेको बताउनु भयो । गाउँपालिकाले अस्थायी वेशमा परिचालित सुरक्षाकर्मीलाई बस्ने ठाउँको व्यवस्था गर्दै आवश्यक सामग्री प्रदान गरेको जानकारी दिँदै आचार्यले पोस्टलाई स्थायी बनाउन पहल भइरहेको बताउनु भयो । यसअघि नै जिल्ला सुरक्षा समितिको बैठकले मिक्लाजुङमा स्थायी सुरक्षाको व्यवस्थापन गर्न आवश्यक रहेको निस्कर्ष निकाल्दै गृह मन्त्रालयमा सिफारिस गरिसकेको छ ।

मिक्लाजुङमा तत्काल खड्किएको सुरक्षाको आवश्यकता परिपूर्ति गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button