Tune to BFM 91.2|Biratnagar

मिटरब्याजको ठूलो गिरोहविरुद्ध मुद्दा, एक जना पक्राउ, तीन जना फरार

विराटनगर, २ माघ । मिटरब्याजमा पैसा लगानी गर्ने एउटा ठूलो गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा आज ‘आपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालकाअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

मुद्दामा विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाइएको उहाँले बताउनु भयो । प्रतिवादी बनाइएकामध्ये एजाजमात्रै पक्राउ परेका छन् । अरु फरार छन् । दाहालकाअनुसार गोलाप्रथाबाट बेन्चको टुंगो लागेपछि आगामी आइतबारबाट मुद्दामा बहस सुरु हुन्छ । वादी र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि अदालतबाट उक्त गिरोहलाई पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा छाड्नेभन्ने आदेश हुने उहाँले बताउनु भयो ।

थोरै लगानी गरेर ‘मिटरब्याज’मार्फत धेरै असुल्ने गरेको पाइएपछि एजाजलाई प्रहरीले पुस ६ गते पक्राउ गर्दै घटनाको अनुसन्धान थालेको हो । उनी पक्राउ परेको थाहा पाएपछि अरु तीन जना फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । उहाँकाअनुसार पक्राउ परेकामाथि अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले कानुनअनुसार आफ्नो प्रक्रिया अघि बढाएको हो ।

प्रहरीले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्नेसम्मको अपराध ‘मिटरब्याजी’ गिरोहले गर्ने गरेको जनाएको छ । यसरी कोही ठगिएको भए उजुरी दिन र सम्पर्कमा आउन एसपी खड्काले सबैमा आग्रह गर्नु भएको छ । घटनाअनुसार ब्याजवापत दुई लाख रुपैयाँ थपेर एक वर्षभित्रमा तिर्ने भाका राखेर विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय रामकिशोर ठाकुरले एजाजको समूहसँग एक वर्षअघि १५ लाख ऋण लिनु भएको थियो । सर्तअनुसार समयमै दुई लाख रुपैयाँ थपेर ठाकुरले १७ लाख रुपैयाँ फिर्ता गर्नु भयो ।

तर बारम्बार ६० लाख माग्दै फोन आउन थालेपछि र सो गिरोहले आफूलाई कब्जामा लिएर अपहरण शैलीमा लग्दै एक करोड १० लाख रुपैयाँको हस्ताक्षर गर्न लगाएर बैंकको चेक लगेपछि ठाकुर प्रहरीको शरणमा पुग्नु भएको हो । विभिन्न धम्की आउन थालेपछि ज्यानको बाजी राखेर आफू प्रहरीमा पुगेको ठाकुरले बताउनु भयो । ठाकुरले उजुरी दिएपछि पुस ६ गते एजाजलाई पक्राउ गरेर अनुसन्धान थाल्दा उक्त गिरोह मिटरब्याजमा लगानी गर्ने समूह रहेको प्रहरीले पत्ता लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button