मुख्यमन्त्रीहरु विरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गरिन्छः सिटौला
विराटनगर, ९ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जान नसकीने बताउनु भएको छ ।
प्रेस युनियन मोरंगले आज साँझ विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले भन्नुभयोे,‘ओली नेतृत्वको कम्युनिष्ट पार्टीलाई सहयोग गरेर जाने कुरै हुँदैन ।’ कांग्रेसले प्रदेशका मुख्यमन्त्रीहरु विरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने उहाँले बताउनुभयो ।
देशभर वर्तमान सरकारका विरुद्धमा आन्दोलन गरिरहेको कांग्रेसले प्रदेश १ मा पनि सोही अनुसार मतदान गर्ने उहाँले बताउनुभयो । ओली नेतृत्वको सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउँदै सिटौलाले विराटनगरसभामा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमूना भएको बताउनुभयो ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निश्चित भएको विश्वास व्यक्त गर्दै सिटौलाले भन्नुभयोे, ‘अहिलेको राजनीतिक प्रणाली ध्वस्त पार्ने कदमलाई अदालतले साथ दिने कल्पनासम्म गर्न सकिँदैन ।’
प्रधानमन्त्री ओलीले व्यवस्था नै संकटमा पार्ने गरी प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको नेता सिटौलाको आरोप छ । व्यवस्था नै अस्थिरता तिर जाने गरी कुनै निर्णय अदालतले नगर्नेमा आफू शतप्रतिशत विश्वस्त रहेको उहाँले बताउनुभयो ।