Tune to BFM 91.2|Biratnagar

मुख्यमन्त्री सहित तीनमन्त्री भोजपुरमा

विराटनगर, १३ वैशाख । कोरोना परीक्षणका लागि आवश्यक पर्ने सामाग्री लिएर प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई सहितको टोली भोजपुरको हतुवागढी गाँउपालिका गएको छ ।

हतुवागढी गाउँपालिका वडा नम्वर ६ का २६ बर्षिय युवामा कोरोना संक्रमण पोजेटिभ पाइए पछि उनीसँग सम्पर्कमा रहेकाहरुको स्वास्थ्य परीक्षण गर्न आवश्यक सामाग्रीको अभाव देखिएको थियो ।

केही थान पिपिई, ज्वरो नाप्ने थर्मल गन लगायतका आवश्यक स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको हेलिकप्टरबाट मुख्यमन्त्री राईसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक बिकास मन्त्री जिवन घिमिरेको टोली हतुवागढी गएको हो ।

मुख्यमन्त्री राईले गाँउपालिकाका अध्यक्षसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुसंग कुराकानी गर्दै प्रदेश सरकार साथमा रहेकाले कोरोना भाइरसविरुद्ध ढुक्क भएर लड्न आग्रह गर्नुभएको थियो । उहाले नआत्तिकन आआफ्नो जिम्मेवारी पूरा गर्न समेत सवैलाई अनुरोध गर्नुभएको छ ।

हतुवागढी गाउँपालिकाका युवा पनि संक्रमण पाइए पछि मुख्यमन्त्री राईले गाँउपालिका र जिल्लाकै पछिल्लो अवस्थाका साथै थप संक्रमण फैलन नदिनका लागि स्थानीय तहले गरिरहेको कार्यका बारेमा पनि जानकारी लिएको गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारबाट आएको स्वास्थ्य सामाग्रीहरु मुख्यमन्त्री राईले गाँउपालिकाका अध्यक्ष प्रेमकुमार राईलाई हस्तान्तरण गर्नुभएको थियो । मुख्यमन्त्रीसंगै गएका आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले शान्ति सुरक्षाका बिषयमा सुरक्षा निकायका अधिकारीहरुसंग जानकारी लिनुभएको थियो ।

यस्तै समाजिक विकास मन्त्री जीवन घिमिरेले हतुवागढी लगायतका क्षेत्रहरुमा आरडिटी टेष्टका लागि प्रदेश सरकारले आवश्यक स्रोत साधन, स्वास्थ्य सामाग्री र जनशक्ति उपलब्ध गराउने बताउनुभएको थियो ।

मुख्यमन्त्री सहितको टोली हेलिकप्टर मार्फत हतुवागढीबाट कोरोनाको बढी प्रभावित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका पनि पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button