Tune to BFM 91.2|Biratnagar

मृत्युपछि नोवेल अस्पतालद्धारा शव दिन अस्वीकार

विराटनगर, १८ माघ । विराटनगरको नोबेल शिक्षण अस्पतालले उपचारका क्रममा मृत्यु भएका एक पुरुषको शव परिवारका सदस्य र आफन्तलाई दिन अस्वीकार गरेको छ । उपचारवापतको पूरै खर्च नतिरेकोभन्दै अस्पतालले झापाको दमक नगरपालिका–८ का ४८ वर्षीय सुरज बुढाथोकीको शव दुई दिनदेखि नदिएको हो ।

उपचारका क्रममा हिजो बिहान ९ बजेतिर बुढाथोकीको मृत्यु भएको थियो । गत माघ २ गते अचानक बेहोस भएर ढलेपछि दमकस्थित लाइफलाइन अस्पताल हुँदै बुढाथोकीलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको हो । उच्च रक्तचापको समस्याका कारण टाउकोमा रगत जमेर नसामा समस्या भएको हुनसक्ने बताउँदै चिकित्सकले भेन्टिलेटरमा राखेको पाँच दिनपछि शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको जेठी छोरी सुजना बुढाथोकीले बताउनु भयो । शल्यक्रिया गरेको १२ दिनपछि बुढाथोकीको मृत्यु भएको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण ऋण खोजेर, चन्दा संकलन गरेर र छरछिमेकीबाट सहयोग जुटाएर ल्याएको रकमले बुवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको सुजनाको भनाइ छ । उपचारवापत लागेकोमध्ये तीन लाख, शल्यक्रिया चार्ज भनेर ७२ हजार र औषधिवापतको दुई लाख गरेर पाँच लाख ७५ हजार अस्पताललाई बुझाइसकेको उहाँले बताउनु भयो । अस्पतालले परिवारका सदस्यलाई उपचारवापतको एक लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिएको छ । त्यही पैसा तिर्न नसक्दा अस्पतालले शव नदिएको हो । केही पनि सम्पत्ति नभएका सुकुम्बासी अवस्थाका बुढाथोकी परिवार अर्काको घरमा भाडामा बस्दै आएको थियो ।

बुढाथोकीले भाडाको सफारी चलाएर चार जनाको परिवार धान्दै आउनु भएको थियो । बाँकी पैसा तिर्नसक्ने अवस्था नभएको जानकारी अस्पताललाई दिए पनि शवलाई बन्धक बनाएर राख्दा बुवाको अन्त्येष्टि गरेर मृत्यु संस्कारपछिको काम गर्न नपाइएको गुनासो सुजनाको छ । उहाँका अनुसार अस्पतालले उपचारवापत बाँकी रहेको पैसा तिर्नु, अनि शव लैजानु, नभए दिँदैनौं भनेर भनिरहेको छ ।

उपचारवापत धेरै पैसा तिरिसकेको र बिरामीको पनि मृत्यु भइसकेको अवस्थामा बाँकी रहेको थोरै रकम छुट गरेर शव आफूहरुलाई दिनुपर्ने माग परिवारका सदस्य तथा आफन्तको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले परिवारकै सहमतिमा उपचार थालिएका कारण बिरामीको मृत्यु भए पनि उपचारवापत लागेको रकम भने अस्पताललाई तिर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button