मोटरसाइकलले ठक्कर दिँदा सशस्त्रका इन्सपेक्टर घाइते
विराटनगर, २९ चैत । ‘लकडाउन’ उल्लंघन गरेर शिक्षकले कुदाइएको मोटरसाइकलले ठक्कर दिँदा हिजो साँझ मोरङमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) घाइते हुनु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १८ प ६२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र बेस क्याम्प लक्ष्मीमार्गमा कार्यरत इन्सपेक्टर चेतन बाह्रकोटी घाइते हुनु भएको हो ।
उपचारका लागि झापाको बी एण्ड सी अस्पतालमा भर्ना गरिएका बाह्रकोटीको दाहिने कुमको जोर्नी खुस्किएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँका अनुसार विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ कार्यान्वायनका लागि राजमार्गमा इन्सपेक्टर बाह्रकोटी नेत्रृत्वको टोली परिचालित थियो ।
‘लकडाउन’ का समयमा मोटरसाइकल चलाएको पाइएपछि सशस्त्रको टोलीले रोक्न खोजेको थियो । रोक्न खोजेकै मोटरसाइकलले ठक्कर दिँदा घटना भएको डीएसपी राईले बताउनु भयो । मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका– १ का २९ वर्षीय तीर्थबहादुर राई र पछाडि सवार १९ वर्षीय सुजन राईलाई नियन्त्रणमा लिइएको जानकारी उहाँले दिनु भयो ।
मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताउनु भयो । सवारी पास लिएर मात्रै ‘लकडाउन’का समयमा सवारी साधन चलाउन पाइने भए पनि राईले पास लिएको नपाइएको उहाँको भनाइ छ ।
सवारी चालक राई विरुद्ध सवारी अंगभंगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।